बिराटनगर /
कोशी प्रदेश सरकारले गएको चैत्रमा आर्थिक सहायता सम्बन्धी कार्यविधि पास गरेको छ । कार्यविधिमा क्यान्सर रोग लागेका बिरामीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग दिने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशमा १ हजार भन्दा बढी कडा रोग लागेका बिरामीको निवेदन परेको छ ।
तर समितिको बैठक बसेर निर्णय हुन नसक्दा ती निवेदनका फाइल फाँटमा अलपत्र परेर थन्किएका छन् । ।
कोशी प्रदेश सरकारले विभिन्न ११ वटा रोग लागेका बिरामीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको छ । यसका लागि चैत्रमै आर्थिक सहायता सम्बन्धी कार्यविधि पनि सांसदबाट पास गरेको छ ।
आर्थिक सहायता सम्बन्धी कार्यविधिमा मिर्गौला रोग, मुटु रोग, क्यान्सर पार्किन्सन्स,अल्जाइमर स्पाइनल इन्जुरी,हेड इन्जुरी कलेजो,अल्पास्टीक एनिमिया,थालीसिमिया, मस्तिस्कघात जस्ता रोगका बिरामीलाई आर्थिक सहायता दिने उल्लेख छ ।
तर कार्यविधि बनाएर सहायता दिने भने पनि स्वास्थ्य मन्त्रालयले आर्थिक सहायता भने दिन सकेको छैन ।
प्रदेशमा देखिएको राजनीतिक दाउपेच र सत्ताको फेरबदलले प्रदेशमा रहेका यस्ता कडा खालका बिरामीहरूले आर्थिक सहायता पाउन सकेका छैनन् ।
उनीहरूले दर्ता गराएको फाइल मन्त्रालयमा थन्किएका छन् । कर्मचारीहरू माथिको निर्णय नभएको भन्दै आउने बिरामीका आफन्तहरूलाई फर्काउने गरेका छन् ।
कर्मचारीका अनुसार मन्त्रालयमा दैनिक रूपमा आर्थिक सहायता पाउँ भनेर दैनिक ६० जना भन्दा बढी आउने गरेका छन् ।
एक कर्मचारीले भने, सहायता पाम भनेर आउनेको सङ्ख्या बढेको बढ्यै छ अहिले सम्म बैठक समेत बस्न सकेको छैन ।
बैठक बसेर निर्णय नहुँदा १४ जिल्लाका कडा रोग लागेका बिरामीको उपचारमा समस्या भएको छ ।









