दमक, मंसिर ३
स्वास्थ्य बीमा सञ्चालन गर्ने अस्पतालहरुबाट नक्कली भर्पाइ गर्दै बीमा बोर्डमा भुक्तानी दावी गर्नेहरु भेटिएपछि स्वास्थ्य मन्त्रालयले त्यस्तो काम गर्ने अस्पताल र तथा सञ्चालकहरुलाई कार्वाही गर्ने तयारी गरेको छ ।
झापाको दमकमा रहेको दमक अस्पतालको निरीक्षणका क्रममा झापा आउनु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नक्कली बीमा ‘क्लेम’ गर्न आउनेहरुलाई कार्वाही गरिने बताउनु भएको हो ।
‘हामी यो काममा निकै निर्मम भएर लाग्दैछौ ’ स्वास्थ्यमन्त्री पौडेलले भन्नु भयो ‘अव नक्कली बीमा दावी गर्ने अस्पतालको सम्बन्धन खारेज, क्लेम गर्ने पत्रमा सिफारिस गर्ने व्यक्ति र त्यस अस्पतालका सञ्चालकहरुलाई जेल हाल्नेगरिको काम थाल्ने छौ ।’
मन्त्री पौडेलका अनुसार अहिले पनि अस्पतालहरुले बीमा दावी गरेजति रकम नपाएको र बीमा बोर्डले दावी गरिएको भन्दा आधा मात्रै भुक्तानी गर्दै बाँकी सबै नक्कली सिफारिस भनेको अवस्थामा त्यसरी नक्कली भएको भेटिएमा दावी गरेको कुनैपनि रकम नपाउने र कार्वाही समेत गरिने छ ।
साथै उहाँले स्वास्थ्य बीमालाई थप व्यवस्थित र सबै नागरिकको सहज पहुँचमा पुर्याउन नागरिक योगदानमा आधारित कार्यविधि ल्याउने पनि बताउनु भएको छ । देशभरका संगठित कर्मचारीको तलवबाट २ प्रतिशत र अन्य आर्थिक अवस्था सवल भएका नागरिकहरुबाट समेत योगदानमा सहभागी हुने कार्यक्रम ल्याएर बीमाको कोषमा रकम बढाइने उहाँले बताउनु भयो ।
सो अवसरमा दमक अस्पतालले एक शल्यक्रियास्थलको मन्त्री पौडेलमार्फत उद्धघाटन गराएको छ भने अस्पतालको अवस्थाको बारेमा उहाँलाई तथ्यगत रुपमा जानकारी समेत गराएको थियो ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमक अस्पताललाई देशकै उत्कृष्ट र नमुना नगर अस्पताल बनाउने प्रयास भइरहेको र त्यसमा मिर्गौला रोगीको डायलासिस मेसिन र सिटी स्क्यान मेसिन आवश्यक रहेकोले ती उपकरण उपलब्ध गराइदिन मन्त्री पौडेल समक्ष अनुरोध सहितको पत्र समेत हस्तान्तरण गर्नु भयो ।
नगर प्रमुखको माग सुनेपछि मन्त्री पौडेलले आगामी बजेटमा राखेर भएपनि दमक अस्पताललाई डाईलासिस मेसिन वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो भने सिटी स्क्यान मेसिन भने नगरस्तरीय अस्पतालले थेग्न समेत नसक्ने भएकोले दिन नसक्ने जानकारी गराउनु भएको थियो ।









