पथरी, चैत ९
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद एवम् नेपाली कांग्रेस महासमिति सदस्य डा. सुनीलकुमार शर्माले स्वास्थ्य बीमा गर्ने बीमितहरूलाई तेस्रो वर्षमा १० लाख रुपैयाँ बराबरको बीमा सुविधाका लागि पहल भइरहेको बताउनु भएको छ ।
सांसद शर्माले शनिबार आफ्नो र सोही निर्वाचन क्षेत्रका प्रदेश सांसद मानबहादुर लिम्बूको संयुक्त सम्पर्क कार्यालयको पथरी शनिश्चरे २ बुद्धचोकमा उद्घाटनका क्रममा सो कुरा बताउनु भएको हो । उहाँले पहिलो वर्षमा २ लाख, दोस्रो वर्षमा ५ लाख र तेस्रो वर्षमा १० लाख रुपैयाँ बराबरको बीमा सुविधा पाउनुपर्ने कुरामा आफूहरुले संघीय सदनमा पेश गरेको र सांसदले एक स्वरले पास गरेकोले स्वास्थ्य बीमा सम्बन्धी विधेयक कानुनी रूपमै आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो विधेयक पास भएमा नयाँ इतिहास रच्ने र मतदाताले दिएको मत खेर नजाने उहाँले बताउनु भयो ।
उहाँले ३ नम्बर क्षेत्र अन्तर्गत पथरी शनिश्चरेदेखि सलकपुरसम्म करिब २ अर्ब भन्दा बढी बजेट प्राप्त गरेको र थुप्रै विकासका योजना सञ्चालन भइरहेको बताउनुभयो । उहाँले खानेपानी, सडक, बिजुली, पुल, तटबन्धन जस्ता विभिन्न विकासका कार्यहरुका लागि आवश्यक बजेट ल्याउनका लागि पहल गरिरहेको बताउनुभयो ।
सांसद डा. शर्माले पथरी डाईनिया सडक खण्डको स्तरोन्नती र कालोपत्रे लगायतका विभिन्न सवालहरूमा आफूले पहल गरिएको बताउनुभयो ।
आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्या समाधान गर्न सहजताका निमित्त भन्दै दुबै सांसदले संयुक्तरुपमा संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा संविधानसभाका सभासद् तथा नेकपा एकीकृत समाजवादी पार्टीका मोरङ सह इञ्चार्ज चण्डीप्रसाद राई, नेकपा माओवादी केन्द्रका पथरी शनिश्चरे अध्यक्ष गोविन्द कटुवाल, एकीकृत समाजवादीकी महिला नेतृ कृष्णकुमारी विश्वकर्मा,लगायतले नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको संयुक्त गठबन्धनले निर्वाचनताका जनताको घरदैलोमा गरेका बाचाहरु पूरा गर्न पनि दुवैजना सांसदहरूलाई शुभ–कामना व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेस महासमिति सदस्य वसन्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति गणेश खड्काले गर्नुभएको थियो । सो अवसरमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेताहरुले पथरी शनिश्चरे खण्डमा बन्दै गरेको एसियन हाइवे सहरी मापदण्ड अनुसार नै निर्माण हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रममा कांग्रेसका भातृ संगठनका पदाधिकारीहरू तथा तथा विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।









