मास्क आयात बढ्दो, निर्यात घट्दो क्रममा

 

 

 

 

काठमाडौँ — स्वदेशमै फेस मास्क उत्पादन हुन थाले पनि आयात भने बढ्दो क्रममा नै देखिएको छ । मास्क निर्यात भने घट्दो क्रममा रहेको भन्सार विभागको तथ्यांक छ । गत वर्षको तुलनामा यस वर्ष मास्क आयात बढ्दो र निर्यात घट्दो क्रममा रहेको विभागको तथ्यांक छ ।

गत वर्ष पहिलो ६ महिनामा १५ करोड १५ लाख ३२ हजार रुपैयाँको मास्क निर्यात भएको थियो । यस वर्ष भने २७ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र मास्क निर्यात भएको छ । मास्क निर्यात हुने देशमा कोरोना संक्रमणको दरअनुसार निर्यातको संख्यामा घटबढ भइरहेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

विभिन्न देशबाट मास्क आयात भइरहेको अवस्थामा उपत्यकाभित्र रहेका उद्योगमा मास्कको माग बढिरहेको छ । बाहिरका उद्योगका मास्क भने कारखानामै थन्किएका छन् । दमकस्थित ग्रिन नेपालको कारखानामा सात लाख थानभन्दा बढी मास्क थन्किएका छन् । उचित मूल्य नपाउँदा मास्क कारखानामै राख्नुपरेको सञ्चालक नन्दलाल पाण्डे बताउँछन् । देशभर ओमिक्रोनको संक्रमण बढिरहेको अवस्थामा पनि उद्योगमा मास्कको माग भने घटिरहेको उनले जानकारी दिए ।

‘कोरोना महामारीको सुरुवातमा कारखाना सञ्चालन गरें, पहिले यहाँ अन्य थिएन, अहिले दमकमै ४ वटा मास्क उत्पादन गर्ने कम्पनी छन्,’ उनले भने । चिनियाँ मेल्टब्लोन प्रयोग गरेर बनाइएका ५० थान मास्कको होलसेल मूल्य सय रुपैयाँमा बेच्दा पनि उनको मास्क कारखानामै थन्किएका हुन् । घाटा खाएर बेच्नुभन्दा मास्क अभाव हुँदा बेच्ने भन्दै थन्काइराखेको उनले बताए । ‘देशबाहिर मास्क पठाउन आफ्नो लिंक छैन, पहिला काठमाडौंसम्म पुग्थ्यो, अहिले पूर्वमै सीमित छ,’ उनले भने ।

उपत्यका बाहिरको कारखानामा मास्क थन्किए पनि काठमाडौंमै सञ्चालन कम्पनीमा भने मास्कको माग बढिरहेको बज्र ग्रुपअन्तर्गत बज्र हेल्थ केयर प्रालिका मार्केटिङ म्यानेजर सुनिल पौडेलको भनाइ छ । ‘हिजोआज मास्कको माग बढ्दो छ, मास्क तयार हुनासाथ बजारमा गइहाल्छ,’ उनले भने, ‘प्रतिदिन ३० देखि ४० हजार पिस मास्क उत्पादन गरिरहेका छौं, बजार राम्रै पाएको छ ।’

अहिले मास्क बनाउन प्रयोग गरिने कच्चापदार्थको मूल्य बढेकाले मास्कको पनि मूल्यवृद्धि भएको उनले जनाए । पहिले ५० थान मास्कको २०० रुपैयाँ पर्थ्यो । अहिले २ सय ५० रुपैयाँ पर्न आउने उनले सुनाए । बज्रले चाइनिज र नेपाली दुवै प्रकारका मेल्टब्लोन पेपर प्रयोग गरेर मास्क बनाइरहेको छ । ‘मेल्टब्लोन पेपरअनुसार नेपाली मास्क सस्तो पर्छ, चाइनिज अलि महँगो र राम्रो हुन्छ,’ उनले भने ।

उपत्यकाकै बजारको माग पुर्‍याउन सकस भइरहेको आहा औद्योगिक कम्पनीले बताएको छ । उपत्यकाबाट नै प्रतिदिन १ लाख थान मास्कको माग भइरहेको कम्पनीका सहकारी मार्केटिङ म्यानेजर सन्तोष सिग्देलले जानकारी दिए । ‘प्रतिदिन ६० देखि ७० हजार थान मास्क तयार हुन्छ,’ उनले भने, ‘उपत्यकाकै माग पुर्‍याउन नसकेकाले बाहिर पठाउन सकेको छैन ।’ कोरोना महामारीदेखि नै कम्पनीले मास्क उत्पादन गर्न थालेको हो । नेपालको मास्क गत वर्ष भुटान, फ्रान्स, जर्मनी, भारत, जापान, सिंगापुर, स्विट्जरल्यान्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका र बेलायतमा निर्यात भएको थियो । यस वर्ष भारत, कतार, न्युजिल्यान्ड, जापान, पाकिस्तान र सुयक्त अधिराज्यमा मात्र निर्यात भएको छ ।

गत वर्षको तुलनामा मास्क निर्यात घटे पनि आयात भने बढ्दै गएको छ । गत वर्ष पहिलो ६ महिनामा १ अर्ब ६६ करोड ९४ लाख ४ हजार रुपैयाँको आयात भएको थियो । तर अहिले यही ६ महिनामा ३ अर्ब १४ करोड ६१ लाख १८ हजार रुपैयाँ बराबरको मास्क आयात भइसकेको विभागको तथ्यांक छ । गत वर्ष जम्मा २ अर्ब ५७ करोड ६५ लाख ५० हजार रुपैयाँको मास्क आयात भएको विभागले बताएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नै १ अर्ब रुपैयाँभन्दा बढीको मास्क आयात भइसकेको छ ।

कोभिडको संक्रमणपछि कच्चापदार्थ आयात गरी स्वदेशमै मास्क उत्पादन गर्न थालिएको हो । मास्क उद्योग मात्र छुट्टै नभए पनि साना–ठूला सबैखाले कम्पनीले मास्क उत्पादन गरिरहेको गार्मेन्ट संघ नेपालका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । ‘मास्क उत्पादन घटेको होइन, नेपालमै खपत बढेको हो,’ उनले भने, ‘कोरोना महामारीपछि मास्क ‘युज एन्ड थ्रो’ गर्ने संख्या बढेको छ ।’ हिजोआज सामानको मूल्यभन्दा पठाउने शुल्क बढी पर्ने भएकाले पनि मास्क निर्यातमा कमी आएको हुन सक्ने उनले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी

वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त

काठमाडौं,१३ असार । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर