दमक, चैत १२- मान्छेको स्वभाव कस्तो छ, कुन विषय र क्षेत्रमा रुची राख्दछ भन्ने कुरा उसको भविष्य निर्माणको प्रमुख आधार बन्छ । आफूलाई रुची नै नभएको क्षेत्रमा काम गर्न असहज हुन्छ, मन उत्साहित बन्दैन । जसले गर्दा जीवनमा सफलता हात पार्न गाह्रो मात्र होइन निराशा अनि कुण्ठाले उल्टै पिरोलिइरहने हुन्छ ।
यो विषय र प्रसंग पूर्वकै प्रभावकारी उपचारमा सफलता हाँसिल गर्नु भएकी बिर्तामोडकी गाइनोलोजिष्ट डा. मेघ्ना तिवारी खनालको जीवनसँग जोडिन्छ । अर्थात उहाँ कोमल मन भएको अनि केही नयाँ काम गर्ने र मानवको सेवामा रुची राख्ने भएकाले अरुको सेवाको स्वास्थ्य उपचार क्षेत्रको काममा उहाँको रुचीले मेल खायो । सोही अनुरुप परिवारले उहाँलाई डक्टर पढायो र उहाँले सोही क्षेत्रमा गज्जबको सफलता हाँसिल गर्नुभयो ।
झापाको अर्जुनधारामा वि.सं. २०३० साल असार २६ गते पिता शुकदेव र माता शान्ति तिवारीको उर्जाशील सन्तानका रुपमा जन्मिनु भएकी मेघ्नालाई आफ्नो रुचीको क्षेत्रमा अघि बढ्न आर्थिक हिसाबले पनि त्यति समस्या थिएन । पिता माता दुबैजना विद्यालयका शिक्षक भएकाले चेतनाको पाटोमा पनि सानैदेखि स्वतः मलजल मिल्यो ।
शिक्षण पेशामा जागिरे बुबाआमाले मेघ्नालाई सँगै काठमाडौं लगेर छात्राहरु मात्र पढ्ने विद्यालय सेन्ट मेरिज स्कुल जावलाखेलमा भर्ना गरिदिनुभएको थियो । उहाँको पढाई अब्बल थियो । त्यसपछि सेन्ट जेभियर्स कलेज जावलाखेलमा आइएसी पढ्नुभयो ।
त्यो बेला पढाईमा अब्बल विद्यार्थीले कि डाक्टर कि इन्जिनियर बन्नुपर्छ भन्ने विद्यालयको र त्यस्तो पढाउन हैसियत राख्ने अभिभावकको रोजाई हुने गर्थ्यो । विद्यार्थीले पनि त्यसैलाई आफ्नो रुची मान्थे । पढाईमा अब्बल मेघ्नालाई पनि डक्टर बन्ने लहरमा रहर पलाएको थियो । उहाँको गणितमा सबैभन्दा राम्रो दख्खल भएकाले मेघ्नाले इन्जिनियर पढ्ने होला भनेर साथीहरुले सोचेका थिए । तर बुबाआमाले मेघ्नाको स्वभाव अनुसारले डाक्टर बन्नु राम्रो हुने भएर त्यतातर्फ यात्रा अघि बढाइदिनु भयो जो मेघ्नाको समेत रोजाई बनिसकेको थियो ।
त्रिचन्द्र क्याम्पसमा पहिलो वर्ष बीएससी अध्ययन गर्दैगर्दा पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्समा एमबीबीएसको कोटा खुलेको जानकारी उहाँको कानमा पर्यो । अनि त्यहाँ गएर पहिलो व्याचका रुपमा अध्ययन गरेर ६ वर्षे कोर्ष पुरा गर्नुभयो । त्यसपछि शिक्षण अस्पताल काठमाडौबाट छात्रवृत्ति पाएर ०६४ मा गाइनोलोजीतर्फ एमडी एमएस पुरा गरेपछि छोरीलाई स्वास्थ्यसेवी बनाउने परिवारको सपनाले मूर्त रुप लिने बाटो खुल्यो ।
०५८ मा लोकसेवा उत्तीर्ण गरेर दुर्गम क्षेत्र जिरी अस्पतालमा २ वर्ष र सिन्धुपाल्चोकमा ३ वर्ष काम गर्नुभयो । भरतपुर अस्पतालहुँदै मणिपाल कलेजमा समेत काम गर्नुभयो । हुँदैगर्दा घर पायक झापामा पहिलो गाइनोलोजिष्ट डाक्टरका रुपमा मेची अञ्चल अस्पतालमा सरुवा भयो । त्यसपछि फेरि भरतपुर नै सरुवा भयो । आफूलाई काममा त्यति सन्तुष्टि महसुस नभइरहेको अवस्थामा ०७० सालमा आफ्नो १२ वर्षे सरकारी जागिर बिट मारेर निजीरुपमा स्वास्थ क्षेत्रमा केही गर्ने योजना बनाउनु भयो । उहाँको योजनामा डाक्टर नै रहनु भएका उहाँका श्रीमान आनन्दराम खनालको साथमा ०७२ सालबाट बिर्तामोडमा आनन्द डायग्नोष्टिक सेन्टर स्थापना गरेर आफ्नो जन्मभूमिमा भावनात्मक मनको आँगन फराकिलो बनाउन पाउनु भयो, जसबाट उहाँलाई आनन्द मिलिरहेको छ । ‘मान्छेलाई गहिरोगरी मनैदेखि बुझ्न खोज्ने सेवाको मेरो रुची र स्वभावले यो क्षेत्रमा केही काम गर्न सकें । महिला भएकाले महिलाको भावना अझ बुझ्न सजिलो भयो । उहाँले हँसिलो मुद्रामा भन्नुभयो ‘अहिले आफ्नो मनको योजना अनुसार स्वास्थ्य केन्द्र सञ्चालन नै गरेर अघि बढ्दा निकै सन्तुष्टि मिलेको छ ।’
छात्राहरुनै मात्रै भएको विद्यालयमा पढेको अनि जागिरमा पनि महिला विरामीलाई हेर्नुपर्ने जिम्मेबारी भएकाले पछि महिला रोगकै विषय र त्यसबारे अध्ययन गर्ने, तिनका समस्या बुझ्ने अनि समाधानतर्फ जाने महिला स्वभाव जोडियो । अर्कातर्फ महिलाहरुले महिला डाक्टरलाई मात्र आफ्ना समस्या सहज रुपमा भन्न सक्ने भएकाले पनि मेघ्नालाई गाइनोलोजीतर्फको सेवामा डोर्याएको थियो ।
आफूले निजीस्तरमा खोलेको स्वास्थ्य निकायलाई पनि महिलामै केन्द्रित गरेर लाने योजनामा बढेको उपचार सेवाले अहिले महिलाहरु ज्यादै सन्तुष्ठ छन् । महिला सेवाग्राहीको सबैभन्दा बढी सन्तुष्टि सन्तान प्राप्तिमा छ । अर्थात वर्षौंदेखि सन्तान नभएर पिरोलिइरहेका महिलाहरुले उहाँको प्राकृतिक उपचार पद्धतीबाट सन्तानको सुख हाँसिल गरेपछि उनीहरुको नजरमा उहाँ भगवान सरह बन्नु भएको छ । झापा अर्जुनधाराकी कुमारी सापकोटाले १७ वर्षसम्म सन्तान नभएको पीडालाई मेघ्नाले नै हाँसोमा परिणत गरिदिनु भयो । उहाँ भन्नुहुन्छ ‘म उपचारकालागि काठमाडौंसम्म भौंतारिएर हारदिक्क भएर छोडेको थिएँ । डाक्टर मेघ्नाको परामर्श र उपचारबाट मेरो सन्तानप्राप्तिको खुसी पाएको छु । उहाँ त मेरालागि भगवान नै हो ।’
विवाह भएको ५ वर्षसम्म पनि सन्तान नभएका इलामका अमीर र अनिला लिम्बू दम्पतिले पनि डा. मेघ्नाकै उपचारबाट पहिलो सन्तान पाउँदै हुनुहुन्छ । अमीर भन्नुहुन्छ ‘यो त हाम्रो जीवनको सबैभन्दा ठूलो खुसी उहाँले प्रदान गरिदिनु भएको छ ।’
खासमा निसन्तानहरुका समस्या कसरी समाधान गरियो भन्ने विषय त्यत्रो धेरै एलोपेथिक उपचार विधिको विषय नभई प्राकृतिक उपचारको तरिका भएको प्रसंगले अहिले ख्याति कमाइरहेको छ । निकै टाढाटाढाबाट सन्तान अभावमा मन कुँडिएर बसेकाहरु मेघ्नालाई सोध्दै खोज्दै आइपुग्छन् । हालसम्म ७० जना बढीले सन्तानलाभ गरिसकेका छन् ।
डायग्नोष्टिक सेन्टरमा प्रसुतिको सम्पूर्ण जाँच, परामर्श, डेलिभरी, अपरेशनसम्म गरिन्छ । प्रयोगशाला छ । थाइराइड तथा अन्य हर्मोनको जाँच, भिडियो एक्सरे, स्क्यान तथा प्याथोलोजी र फार्मेसीको पनि सेवा उपलब्ध छ । त्यहाँ हाडजोर्नीको उपचार समेत हुन्छ ।
दिल खोलेर विरामीले समस्या बताउने अनि आफूले पनि रमाइलो गरी परामर्श दिँदै उपचारको थप सहजताकालागि सेन्टर क्षेत्रलाई अझ रमणीयस्थल बनाउँदै जाने योजना छ । जसबाट आफ्नो कामप्रतिको आत्मसन्तुष्ठि र सेवाग्राहीको पनि सन्तुष्ठिमा अझ मन आनन्दित बनेर रमाउन सकोस् ।









