काठमाडौं, १३ जेठ / भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै प्रतिपक्षी दलले मंगलबार संसद अवरोध गरे भनें युवा, विद्यार्थीले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल निकट युवा संगठन र विद्यार्थी संगठन आबद्ध युवाहरु विरोधमा उत्रिएका हुन् । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग नेपाल र युवा संगठन नेपालले भिजिट भिसा प्रकरण छानबिन, दोषीलाई कारबाहीलगायत मागसहित प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको समेत राजीनामा मागेका छन् ।
गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर भिजिट भिसामा जाने नेपालीबाट लाखौं असुल्ने खेल संस्थागत रूपमा चल्दै आएको पाइएपछि अहिले गृहमन्त्री लगायतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ ।
गृह मन्त्रालयले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जानलाई ‘कठोर प्रावधान’ सहितका मापदण्ड जारी गरेपछि केही वर्षदेखि नै विकल्पका रूपमा ‘सेटिङ’ मिलाएर तस्करी गर्ने गरेको देखिएको स्वयम् सरकारले नै यो बेला ठहर गरेको छ । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिइसक्नु भएको छ ।
गृहमन्त्री लेखकले राजीनामा दिनुपर्नेलगायत माग राखी मंगलबार प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा समेत अवरोध गरेका थिए ।









