विर्तामोड, २१ जेठ । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आउँदो आइतवारदेखि विर्तामोडमा पहिलोपटक प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्दै छ ।
यसअघि जेठ १ गतेलाई तय भएको प्रदर्शनी कक्षा १२ को परीक्षाका कारण २४ दिन सार्नुपरेको आयोजकले बताएका छन् । विर्तामोडस्थित देबी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने तीन दिने प्रदर्शनीको तयारी पूरा भएको आयोजकले वुधवार प्रदर्शनीस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् । कोशी प्रदेशका १२ जिल्लाबाट कम्तिमा ७० विद्यालयका विद्यार्थीहरू र विभिन्न एजुकेसन कन्सल्टेन्सीहरू सहभागी हुने उक्त प्रदर्शनीमा विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी सामग्रीहरू प्रदर्शन गरिनेछ ।
नेकपा एमाले कोशी प्रदेशका विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलका अनुसार प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना वैज्ञानिक आविष्कार, परियोजना र अनुसन्धानहरू प्रस्तुत गर्नेछन् । यसले उनीहरूलाई वैज्ञानिक सोच र नवप्रवर्तनशील क्षमताको विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज तथा पूर्वमूख्यमन्त्री शेरधन राईसहित नेकपा एमालेका केन्द्रीय र प्रदेशस्तरका नेताहरु पनि सहभागी हुनुहुन्थ्यो । प्रदर्शनीबारे जानकारी दिंदै पूर्वमुख्यमन्त्री राईले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई भविष्यमा आत्मनिर्भर भई बाँच्न यस्ता प्रदर्शनीले बाटो देखाउने बताउनुभयो ।
प्रदर्शनीमा विभिन्न कम्पनीहरूले पनि आफ्ना नवीनतम प्रविधिहरू प्रदर्शन गर्नेछन् । ड्रोन, रोबोट, सूचना प्रविधि, स्वास्थ्य प्रविधि लगायतका क्षेत्रका प्रविधिहरू प्रदर्शनीमा समावेश गरिनेछन् ।
प्रदर्शनीमा विज्ञान सम्बन्धी कार्यशाला, सेमिनार र अन्तरक्रियात्मक सत्रहरू पनि आयोजना गरिनेछन्। विद्यार्थीहरू, शिक्षकहरू, अभिभावकहरू र प्रविधि क्षेत्रमा रुचि राख्ने सबैलाई प्रदर्शनीमा सहभागी हुन आयोजकहरूले अनुरोध गरेका छन् ।
यस प्रदर्शनीले स्थानीय स्तरमा विज्ञान र प्रविधिको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूलाई वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने छ भने अरू २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
प्रदर्शनीको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने तय भएको छ ।









