मेचीनगर, २२ जेठ / चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात घटेको भएपनि राजस्व भनें बढेको तथ्यांक छ ।
पछिल्लो १० महिनाको अवधिमा १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेलको आयात ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले गिरावट आएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत इश्वरकुमार हुमागाईंले जनाउनु भयो । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको बताउनु भयो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । सो अवधिमा सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको उल्लेख छ ।
चालु आवको १० महिनामा दुई अर्ब ३४ करोडको २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, ५५ करोड ९४ लाखको छ हजार ६० किलोलिटर एटीएफ र १९ करोड ६९ लाखको दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।









