भद्रपुर, २३ जेठ । स्थानीय विकासमा युवाको हातेमालो खोज्दै भद्रपुरमा आजदेखि ‘युथ समिट’ सुरु भएको छ । नेपालमै पहिलोपल्ट भद्रपुरले गत वर्षदेखि ‘युथ समिट’ आयोजना गरेर शिक्षित युवाका लागि स्वदेशमै अवसर खोज्ने थिति बसालेको हो ।
युवा सशक्तीकरण ः जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ सुरु भएको युवा सम्मेलनमा १६ देखि २४ वर्षसम्मका २ सय २० जना युवा सहभागी छन् ।
सम्मेलनको उद्घाटन गर्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले विकासका हरेक गतिविधिमा युवालाई जोड्न यो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाका लागि के गर्न सकिन्छ र युवा जनशक्तिलाई कसरी स्वदेशमै रोक्न सकिन्छ भन्ने अवधारणा नगरले तयार गरिरहेको पनि जानकारी दिनुभयो ।
भद्रपुर नगरपालिकामा गठित नगर युवा परिषद्को आयोजनामा भएको सम्मेलनमा युवा, नेतृत्व, जलवायु कार्य, कवि र कविता, युवा र राजनीतिजस्ता करिव एक दर्जन सेसनहरु सञ्चालन हुनेछन् । यसका लागि सम्बन्धित विषयका विज्ञहरु भद्रपुर आइपुगेका छन् ।
सम्मेलनको समापनसँगै युवा सशक्तीकरणसम्बन्धी घोषणापत्र समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।









