दमक, २५ जेठ । मोरङको पथरीशनिश्चरे ३ मा रहेको महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहले भारतको पश्चिम बंगाल, सिलिगुरीमा जारी ८ औं गीताञ्जली मेङ्गो फेस्टिभलमा परम्परागत संगिनी नाच प्रस्तुत गरेको छ ।
नेपाली र भारतीय विविध सांस्कृतिक झाँकी प्रदर्शन हुने यस महोत्सवमा नेपाली संगिनी नृत्य पहिलोपटक प्रस्तुत भएको हो । जहाँ सांस्कृतिक अन्तरघुलनका रुपमा संगिनीले समेत नेपालको मौलिक संस्कृतिका रुपमा प्रस्तुत गर्ने अवसर पाएको संगिनी प्रवद्र्धनका अभियन्ता पत्रकार अर्जुन काफ्लेले जनाउनु भयो ।
समूहकी अध्यक्ष देवीमाया पोख्रेलको नेतृत्वमा दुई टोलीले संगिनी प्रस्तुत गरेको थियो । संस्कार संरक्षण र परम्परागत कला जगेर्नामा सक्रिय सो समूहले नगरपालिका कार्यालयको सहयोगमा गत फागुनमा प्रथम संगिनी महोत्सव सम्पन्न गरेको थियो ।
नेपालका विभिन्न जिल्लामा संगिनी प्रस्तुति दिँदै आएको समूहले नियमित प्रशिक्षणमार्फत नयाँ पुस्तालाई संलग्न गराउँदै आएको छ ।









