दमक, २७ जेठ । नेकपा माओवादी केन्द्र निकट बिभिन्न जातीय मोर्चाहरुको राष्ट्रिय सम्मेलन झापामा हुने भएको छ । सम्मेलनको उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापा आउनुहुने भएको छ ।
आगामी जेठ ३१ गते झापाको कमल गाउँपालिकास्थित रिभर भ्यू पार्टी प्यालेसमा कोचिला राष्ट्रिय मुक्ती मोर्चा नेपाल, धिमाल राष्ट्रिय मुक्ती मोर्चा नेपाल, सन्थाल राष्ट्रिय मुक्ती मोर्चा नेपाल, झागड राष्ट्रिय मुक्ती मोर्चा नेपाल र मेचे राष्ट्रिय मुक्ती मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकैसाथ उद्घाटन गर्नु हुने कोचिला राष्ट्रिय मुक्ती मोर्चा नेपालकी अध्यक्ष ममता राजबंशीले जानकारी दिनुभयो ।
पाँच वटा मोर्चासहित प्रेस सेन्टर नेपाल झापाले आज दमकमा पत्रकार सम्मेलन गर्दै यस बारे जानकारी गराएको हो ।
अहिले देशमा जातीय मोर्चाहरुलाई अधिकारबिहिन बनाईरहेको अवस्थाबाट बाहिर निकाल्नका लागिपनि सबै जातीय मोर्चाहरु एक हुन आह्वान गर्ने उदेश्य सहित ५ वटा मोर्चाहरुको राष्ट्रिय सम्मेलन एकैसाथ गर्न लागेको र राष्ट्रिय सम्मेलनपछि सबै मोर्चाहरु एक ठाउँमा रहेर आफ्नो अधिकार प्राप्तीको लडाई लढ्ने धिमाल राष्ट्रिय मुक्ती मोर्चा नेपालका अध्यक्ष तारिकलाल धिमालको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र निकट जातीय मोर्चाका कोशी प्रदेश संयोजक हिमाल किराँतीले प्रदेशको पुन नामाङ्कनका लागिपनि जातीय मोर्चाहरु एक हुन आवस्यक रहेको निष्कर्श पार्टीको पनि रहेको उल्लेख गर्नुभयो । उहाले कोशी प्रदेशको नाममा सहमतिमा हस्ताक्षर गर्नु सबैको कमजोरी रहेको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य साबित्री कुमार काफ्ले, रन्जित तामाङ, बिरेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो ।









