दमक,२७ जेठ / स्वास्थ्य सचेतनाको अभाव र जीवनशैलीजन्य रोगको बढ्दो जोखिम बीच, मधुमेह जस्तो दीर्घकालीन रोगप्रति जनचेतना फैलाउन दमक नगरपालिका ६ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दमक नगरपालिका वडा नम्बर ६ स्थित आधारभूत स्वास्थ्य केन्द्रको आयोजना र आम्दा अस्पताल दमकको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरको दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । वडाध्यक्ष थापाका अनुसार वडा कार्यालयले प्रत्येक वर्ष ६ प्रकारका स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । यस पटक वडाले मधुमेह रोग केन्द्रित रहेको र आगामी दिनमा अन्य रोगसम्बन्धी शिबिर पनि निरन्तर आयोजना गर्दै लैजाने बताउनुभयो ।
शिविरमा वडामा रहेका मधुमेह रोगी, नियमित औषधी सेवन गरिरहेका र अन्य केही नयाँ सेवाग्राहीले पनि सेवा लिएका थिए । शिविरमा आएका सेवाग्राहीलाई आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिखर कट्टेल, दमक अस्पतालका सुपरिटेण्डेन्ट डा. प्रदिप भट्टराई लगायतको स्वास्थ्यकर्मीको टोलीले ८० जना सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्दै परामर्श दिइ औषधी समेत वितरण गरिएको छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिई औषधी समेत निःशुल्क पाएकोमा सेवाग्राही निक्कै खुसी देखिएका थिए ।
आम्दा अस्पताल दमकका मेडिकल सुपरिटेण्डेन्ट डा. शिखर कट्टेलले धेरैजसो बिरामीहरु फलोअपका बिरामी रहेको र अन्य बिरामीहरु पनि सामान्य अवस्थाकै आएको बताउनुभयो ।
स्थानीय स्वास्थ्य संस्था, वडा कार्यालय र विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा सम्पन्न भएको यो शिविरले मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिएको शिविरका संयोजक बुद्धिशेखर भट्टराईले जानकारी दिनुभयो ।









