काठमाडौँ, २७ जेठ । नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको भए अब नेपाली अङ्गीकृत नागरिकता लिन पाउने विधेयक पारित भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक मंगलबार पारित गरेको छ ।
सो विधेयकले बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने विषय विधेयकमा मुख्य रूपमा समेटिएको समिति सभापति रामहरि खतिवडाले बताउनु भयो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । नेपाली नागरिकलाई नागरिकता विहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको सो विधेयक पारित भएको खतिवडाले जानकारी दिनुभयो ।
त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानुनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको जनाउनु भएको थियो ।
गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको उहाँको भनाइ छ । गैर आवासीय नेपालीका विषयमा छुट्टै विधेयक ल्याउन लागिएको समेत जानकारी गराउनु भयो । गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न विधेयकले थप सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।









