दमक,३० जेष्ठ ।झापाको दमक–८ मा अवस्थित कञ्चनजंघा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २५औं स्थापना दिवस तथा रजत जयन्ती समारोह विहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान, निःशुल्क दन्त शिविर तथा सम्मान कार्यक्रम आयोजना गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष भरत चम्लागाईंले संस्थाको प्रारम्भिक यात्रा र हालसम्मको उपलब्धिबारे जानकारी गराउँदै २०५७ सालमा ५१ जना शेयर सदस्यबाट सुरु भएको संस्था हालसम्म ३५०० जना शेयर सदस्य र ८० करोड रुपैयाँ बराबरको कारोवारमा विस्तार भएको बताउनुभयो । उहाले कृषि, व्यापार, उद्योग तथा रबरलगायतका क्षेत्रमा सहकारीले लगानी गर्दै आएको र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोगमूलक कार्यसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका पूर्वसदस्य होमप्रसाद गौतमले सुरुआती दिनको सम्झना गर्दै सफलताको लागि अरूको पछि नलागी स्वयम् अग्रसर हुनुपर्ने बताउनुभयो ।
संस्थाका व्यवस्थापक नीलकण्ठ निरौलाले २५ वर्षको यात्रालाई फर्केर हेर्दा सहकारीले पार गरेको अनुभव शेयर सदस्यहरुमा साझा गर्नुभएको थियो ।
कार्यक्रममार्फत कञ्चनजंघा सहकारीले विगत २५ वर्षको सफल यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ पारदर्शी, समावेशी र दिगो सहकारी अभ्यासमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ ।









