भोजपुर, ३ असार । भोजपुरमा मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि ‘मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ । खेलकुद तथा दौडका माध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने लक्ष्यसहित आउँदो शनिवार सातौं संस्करणको दौड प्रतियोगिता आयोजना हुन लागेको बताइएको छ ।
पर्यटकीय स्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्टस् एकेडेमीका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा नौ समूहको सहभागिता रहने छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जना सहभागी हुनेछन् । वर्षायाममा समेत यो पदमार्ग भ्रमणका लागि कुनै पनि समस्या नहुने सन्देश दिन प्रतियोगिता सञ्चालन गरिएको राईले बताउनुभयो ।
प्रतियोगितामा समूहतर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रोले २० हजार नगद पुरस्कार पाउनेछन् । एकलतर्फ भने क्रमशः १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।










