काठमाडौ , ७ असार | प्रदेशस्तरका पदाधिकारी र सदस्यहरूलाई मार्गदर्शन गर्न पार्टीका शीर्ष नेताहरू स्वयं प्रशिक्षण लिइरहेका छन्। पार्टी उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्गदर्शक सिद्धान्त, माक्र्सवाद, जनताको बहुदलीय जनवाद र ऐतिहासिक भौतिकवादबारे प्रशिक्षण दिनुभयो।
नेपालको भू–राजनीति र कूटनीतिक सम्बन्धबारे स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले धारणा राख्नुभएको छ भने पार्टी लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेलले माक्र्सवादी अर्थशास्त्र र राजनीतिबारे प्रशिक्षण दिनुभएको छ।
त्यस्तै, सांसद ईश्वर रिजालले लेनिनवाद र केपी ओली सरकारको काम, भ्रम र यथार्थबारे व्याख्या गर्नुभयो। समाजको विकासक्रमबारे प्रा.डा. रमेश भट्टराईले जानकारी गराउनु भयो भने अर्थतन्त्र र सरकारको कामबारे प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले प्रशिक्षण दिनुभयो।
प्रचारको महत्व र सूचना प्रविधिको भूमिकाबारे स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रशिक्षण दिनुभएको सम्पर्क मञ्चले जनाएको छ।
१४ जिल्लाका सम्पर्क मञ्च पदाधिकारीमाझ पनि प्रशिक्षण
कोशी सम्पर्क मञ्चअन्तर्गतका १४ जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई पनि प्रशिक्षण दिइँदैछ। माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादका विषयमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण दिनुभएको छ।
त्यस्तै, सांसद ईश्वर रिजालले ओली सरकारका कार्य र त्यसबारे देखिएका भ्रमको सन्दर्भमा विस्तृत प्रशिक्षण दिएका छन्। सम्पर्क मञ्चको विगत, वर्तमान र निर्देशिकाबारे केन्द्रीय कमिटी सदस्य नरेन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभएको छ भने निर्वाचन प्रक्रिया र व्यवस्थाबारे निर्वाचन आयोगका सदस्य कृष्ण आङ्दम्बेले धारणा प्रस्तुत गर्नुभएको थियो।
पार्टी स्कूलको अनुकरणीय अभ्यास
प्रशिक्षण कार्यक्रममा सहभागी भइ शुभकामना व्यक्त गर्नुभएका स्थायी समिती सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डितले पार्टी स्कूलको नियमितता अनुकरणीय रहेको बताउनुभयो। उहाँले पार्टीको विभिन्न तहमा प्रशिक्षण नपाएका कार्यकर्तालाई समेत विचारमार्फत समेट्न गरिएको प्रयास सराहनीय रहेको टिप्पणी गर्नुभयो।










