भद्रपुर, ८ असार । नेपाल–भारत सीमावर्ती क्षेत्र झापाका प्रमुख नाकालाई लागुऔषध तस्करीको मुख्य रुटका रूपमा लिइँदै आएको छ। पछिल्ले घटना पनि यसैको पुष्टि हो। भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा प्रहरीको गस्ती टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको कारबाट करिब ४८ ग्राम खैरो हिरोइन बरामद गरी दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, विशेष सूचनाका आधारमा जाँच गरिएको बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको नीलो रङको को नेटा कारको चालक सिटमुनि लुकाइएको अवस्थामा ४७.६९ ग्राम खैरो हिरोइन फेला परेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र लमजुङको कोलासोतार गाउँपालिका–७ की २२ वर्षीया रोजिना रानामगर रहेका छन्। दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट ५ दिनको म्याद लिइएको छ।
झापाको काँकडभिट्टा, भद्रपुर, गौरिगञ्ज, लगायतका सीमा नाका वर्षौंदेखि लागूपदार्थ ओसारपसारका लागि सहज माध्यम बनेका छन्। सुरक्षाकर्मीका अनुसार, नेपाल र भारतबीचको खुला सिमा र पर्याप्त जाँच नहुनु लागूपदार्थ कारोवारको मुख्य कारण हो।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार २०८० सालमा झापामा १७० भन्दा बढी लागूपदार्थसम्बन्धी घटना दर्ता भएका थिए । तीमध्ये करिब ७० प्रतिशत खैरो हिरोइन, ब्राउन सुगर वा अवैध ट्याब्लेटहरू कारेबारमा संलग्न पाइएका छन् । पछिल्लो वर्ष झापाबाट ५० किलोभन्दा बढी विभिन्न प्रकारका लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। खासगरी १८ देखि ३० वर्ष उमेर समूहका युवा र किशोरीहरूमा लागूपदार्थ ओसारपसारमा संलग्न हुने दर उच्च देखिएको छ।
नेपाल प्रहरीले केही वर्षयता ‘नक्कली चिकित्सक’, ‘ड्रग फ्री सिटी’ जस्ता अभियानहरू संचालन गर्दै आएपनि तस्करीको रफ्तार उस्तै देखिन्छ। सीमामा सिसी क्यामेरा, कुकुर टोली र नियमित चेकजाँच गरिए पनि सञ्जालयुक्त कारोबारी र प्रयोगकर्ता नियन्त्रणबाहिर देखिन्छन् ।
विश्लेषकहरूका अनुसार लागूऔषध नियन्त्रणका लागि सीमा सुरक्षाको प्रविधियुक्त निगरानी, स्थानीय तहको संलग्नता, र युवाहरूमाझ चेतनामूलक कार्यक्रमको विस्तार आवश्यक छ। यद्यपि यसतर्फ सुरक्षा निकायके ध्यान पुग्न सकेके छैन ।










