दमक, १६ असार । झापाको दमक नगरपालिका वडा नं ८ मा केही नयाँ र फरक कामहरु भएका छन् । हेर्दा सामान्य लाग्ने तर नागरिकको दैनिकमा सहज बनाउने खालका ती कामहरुले वडा नागरिकमैत्री भइरहेको छ भन्ने देखाइ रहेको छ ।
वडामा सेवा लिन आउने नागरिकका लागि निवेदन लेख्नेदेखि आवश्यक फोटोकपिसमेत वडा कार्यालयमै सहजै उपलब्ध गराइन्छ । त्यस्तै, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिका लागि निःशुल्क सिटी सफारी सेवा सञ्चालनमा रहेको छ । सडक बत्तिको नियमित व्यवस्थापनका लागि सेवा खरिदमार्फत प्राविधिक व्यवस्थापन गरिएको छ ।विपन्न परिवारमा कोही सदस्यको निधन भएमा दाउरा, शववाहन, खाद्यान्न तथा आवश्यक सामाग्री निःशुल्क रूपमा उपलब्ध गराइन्छ । त्यस्तै, करिब १०० जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घरघरमै वितरण गरिन्छ ।
वडाले विपन्न वर्गका लागि स्वास्थ्य बीमा पनि निःशुल्क गरिदिएको छ ।जनताको दुःखसुखमा साथ दिने उद्देश्यसहित वडाले मृत्यु संस्कारमा स्थानीय किर्तन मण्डली, आमा समूह, ज्येष्ठ नागरिक समूह तथा टोल विकास संस्थासँग सहकार्य गर्दै श्रद्धाञ्जली एवं समवेदनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । चोरीको घटना बढ्न थालेपछि मृत्यु संस्कारका बेला घर खाली हुने अवस्था देखिँदा सुरक्षा व्यवस्थाका लागि त्यस्ता घरहरूमा सिसिक्यामेरा जडान गर्ने गरिएको छ ।वडास्तरमै योजना सम्झौता गरिँदै आएको छ । स्थलगत अनुगमनसहित कार्यस्थलमै योजना सम्झौता हुने अभ्यासले पारदर्शिता र प्रभावकारिता दुवैमा सघाएको छ । त्यसैगरी टोल विकास संस्थाहरूलाई नियमित सरसफाई तथा सामुदायिक सहभागिताका आधारमा मूल्याङ्कन गर्दै उत्कृष्ट टोललाई सार्वजनिक रूपमा सम्मान गर्ने गरिएको छ ।
वडाले उद्यमशीलता प्रवद्र्धनमा समेत विशेष प्राथमिकता दिएको देखिन्छ । अचार उत्पादन तालिममा सहभागी १८ मध्ये १५ जना महिलाले रोजगारीको बाटो समातेका छन् । तालिमपछिको छलफलमार्फत छुट्टै महिला समूह गठन गरिँदै सामूहिक रूपमा अचार व्यवसाय सुरु गरिएको छ । कम्प्युटर तालिममा सहभागी ३२ जनामध्ये ६ जना वडाबाटै प्राप्त बालमैत्री स्थानीय शासनसम्बन्धी सर्वेक्षण डाटाको इन्ट्री कार्यमा संलग्न छन् भने अन्य युवाहरू पनि निजी क्षेत्रमा रोजगारीमा संलग्न हुँदै गएका छन् ।सिलाई–कटाई तालिममा सहभागी २८ जनामध्ये ३ जना अहिले आफ्नै घरमा व्यवसाय सञ्चालन गरिरहेका छन् भने अन्य सहभागीलाई सिलाई मेसिन हस्तान्तरण गरेर स्वरोजगार बनाउने योजना वडाले अघि सारेको छ ।भजन–कीर्तन मण्डलीलाई सूचीकरण गरेर तिनीहरूलाई बाध्यबादन सम्बन्धी तालिम, आवश्यक सामग्री हस्तान्तरण तथा प्रतियोगिता सञ्चालन गरिएको छ । यसबाट स्थानीय कला र संस्कृतिको संरक्षणमा समेत सहयोग पुगेको छ । वडाका पाँचै जनप्रतिनिधिको नियमित हाजिरी व्यवस्थापन हुने गरेको छ भने वडाका मुख्य चोक तथा सार्वजनिक स्थानमा सीसीक्यामेरा जडान गरिँदै आएको छ ।
दमक–८ मा सञ्चालन भएका यी कार्यक्रमहरूले सेवा प्रवाहमा सहजता मात्र होइन, जन–प्रतिनिधि र जनताको दूरी हटाउँदै नागरिक सरकारको अवधारणा जीवन्त बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेका छन् ।









