भद्रपुर,१९ असार | झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित भन्सार कार्यालयको भवनबाट खसेर एक जना युवक घाइते भएका छन् ।
बोक्ताबारीका ३६ वर्षीय अमृत राजबंशी आज बिहिवार ११:४० बजेको समयमा भन्सार कार्यालयको दोस्रो तलामा टायल जडान गर्ने क्रममा अचानक लडेर घाइते भएका हुन्।
घटनापछि उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। अस्पताल स्रोतका अनुसार घाइते राजबंशीको दाहिने घुँडामा गम्भीर चोट लागेको छ भने टाउको, हात तथा शरीरका भित्री भागमा समेत चोट देखिएको छ। चिकित्सकहरूले उनको अवस्था मध्यम प्रकृतिको रहेको जनाएका छन्।
घाइते राजबंशीको उपचारमा उनका मामा श्रवण राजबंशी संलग्न रहेको जानकारी दिइएको छ।
घटनाको जानकारी पाएपछि तत्कालै इलाका प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै आवश्यक अनुसन्धान थालेको जनाएको छ।
यसबीच, सुरक्षा मापदण्डको कमीका कारण यस्ता घटना हुने क्रम बढ्दो रहेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। भवनको उचाइमा काम गर्दा प्रयोग हुने सुरक्षा उपकरण तथा सतर्कतामा लापरबाही भए यस्ता दुर्घटना दोहोरिन सक्ने विशेषज्ञहरूको चेतावनी छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।










