पथरी, २० असार / मोरङ जिल्लामा पारिवारिक तथा निजी वन संघको सक्रियतामा हरियाली तथा वातावरण संरक्षणको अभियानले थप गति लिएको छ ।
संघले जिल्लाभर विरुवा वितरणलाई तीव्रता दिँदै किसान र स्थानीय उपभोक्तासम्म आवश्यक विरुवा पुर्याउने कार्यमा उल्लेख्य सफलता हात पारेको संघका जिल्ला अध्यक्ष खेमराज इन्द्र ढकालले जनाउनु भयो । उहाँले भन्नुभयो ‘जिल्लामा हरियाली बढाउँदै वातावरण संरक्षण गर्ने हाम्रो अभियानमा यस वर्ष विशेष ध्यान दिँदै कृषक र उपभोक्ताहरूलाई फलफूल तथा अन्य उपयोगी विरुवा सहज रूपमा उपलब्ध गराएका छौं । जसले जिविकोपार्जनमा समेत सघाउने छ ।’ विशेषगरी यो पटक मौसम र स्थानीय मागअनुसार आँप र लिचीका बिरुवा वितरणमा जोड दिइएको छ ।
जिल्लाका उर्लाबारी, मिक्लाजुङ, सुनवर्षी, लेटाङ, रतुवामाई, सुनवर्षी, सुन्दरहरैचा, पथरी शनिश्चरे र केराबारी लगायतका विभिन्न पालिकामा विरुवा वितरण कार्य सम्पन्न गरिएको छ ।
उर्लाबारी र केराबारीमा आँप र लिच्ची गरी ६/६ सय विरुवा वितरण भएको छ । लेटाङ ९ मा त लिची, आँप, अनार, बडहर, अम्बा र तित्री जातका ६ सय नै विरुवा उपलब्ध गराइएको छ । पथरी नगरपालिकामा ४ सय विरुवा वितरण गरिएको छ ।
संघका पदाधिकारीहरूले सम्बन्धित पालिकाका वडाध्यक्षहरूसँग समन्वय गर्दै विरुवा हस्तान्तरण कार्य अघि बढाएका छन् ।









