दमक| असार २० | आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी नेपाल उद्योग तथा व्यवसायी महासंघ, दमक नगर समितिले अध्यक्ष पदसहितका केहि उम्मेदवार घोषणा गरेको छ ।
विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट समूहले शुक्रबार एक कार्यक्रमका बीच आगामी कार्यकालका लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष र महिला उपाध्यक्षका उम्मेदवार सार्वजनिक गरेका हुन ।
दमक–६ स्थित सूर्यदर्शन साकोसमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा व्यवसायीक गतिविधिमा सक्रिय रहेका व्यक्तिहरूलाई अग्रसर बनाउँदै नेतृत्वमा पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वच्छ व्यवसायीक प्रतिस्पर्धा र उद्योगी–व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित व्यवसायी तथा समुदायका अगुवाहरूले नयाँ नेतृत्वले स्थानीय उद्योग र व्यापारको संरक्षण, विस्तार र व्यवस्थित विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
एमाले निकट समूहले एकजुट भएर निर्वाचनमा जानु स्थानीय व्यवसायीक समूहबीच बलियो सञ्जाल निर्माणको संकेतका रूपमा लिइएको छ । उम्मेद्वार घोषणा कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सदस्य बिमल खतिवडाले बिगतका तित्तता सबै बिर्सिएर वाणिज्य संघको चुनाबमा होमिन सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई दमकको व्यापारिक क्षेत्रमा निकै चासोका साथ हेर्ने गरिन्छ । विभिन्न समूहहरूबीच संवाद र सहमतिको प्रयास जारी रहे पनि प्रतिस्पर्धात्मक चुनाव हुने सम्भावना प्रष्ट छ । निर्वाचन आउन करिब ५/६ महिना अघिनै एमाले निकट समुहले अध्यक्षमा भरत कुमार चम्लगाई, बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत , द्वितीय उपाध्यक्षमा रमेश लुइँटेल र महिला उपाध्यक्षमा लोकमाया ढुङ्गाना अर्थात सजु बुढाथोकीलाई उम्मेद्वारका रुपमा अघि सार्ने घोषणा गरेको छ ।
अध्यक्षका उम्मेद्वारका रुपमा अघि सारिनुभएका व्यवसायी भरत कुमार चम्लगाईले व्यवसायीको हक हितका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको थियो । उहाले बिगतमा आफ्नै साथीहरुले सुरु गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा नयाँ कार्यहरुको थालनी गर्न आफु आतुर रहेको पनि उल्लेख गर्नुभयो ।
यसरी उम्मेदवार घोषणा भएसँगै दमकको व्यावसायिक वातावरणमा चुनावी सरगर्मी बढेको अनुभूति हुन थालेको छ । आगामी दिनमा अन्य समूहहरूले पनि उम्मेदवार सार्वजनिक गर्ने तयारी गरिरहेका छन । जसले गर्दा यसपालिको निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
उम्मेद्वार घोषणा कार्यक्रममा नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जित निश्चित गर्नका लागि बिगतका कमजोरी सच्याएर अघि बढ्न व्यवसायी नेताहरुलाई सुझाव दिनुभएको थियो ।
स्थानीय उद्योगी–व्यवसायीले नयाँ नेतृत्वसँग उद्योग–व्यापारमैत्री नीति, सहुलियतपूर्ण व्यवस्था र सहकार्यमा आधारित वातावरण निर्माण गर्ने अपेक्षा राखेका छन् ।









