दमक | २१ भदौ । दमक नगरपालिका–२ भाङबारीस्थित जग्गा विवाद थप चर्किदै गएको छ। घर–बाटो प्रमाणिकरणको माग गर्दै वडाध्यक्षसँग वादविवादमा उत्रिएका जग्गाधनीहरूलाई प्रहरीले पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको छ।
वडाध्यक्ष प्रजापति सापकोटासँग सामान्य सिफारिसको विषयलाई लिएर सुरु भएको विवाद अभद्र व्यवहार र धम्कीमा परिणत भएपछि इलाका प्रहरी कार्यालय दमकले गत बिहिबार कमल गाउँपालिका–५ का बिरेन्द्र कुमार मगर, दर्पण मगर र मार्तिला मगरलाई पक्राउ गरेको हो।
नगरपालिकाको अमिन र वडाको स्थलगत अवलोकनमा सो जमिनमा कुनै बाटो नभएको पुष्टि भएपछि प्रमाणिकरण दिन अस्वीकार गरिएको थियो। तर, मगर परिवारले जर्बजस्ती बाटो रहेको प्रमाणित गर्न दवाव दिँदै वडाध्यक्षलगायत जनप्रतिनिधीमाथि अपशब्द प्रयोग मात्र नभई ज्यान मार्ने धम्कीसमेत दिएको आरोप छ।
हाल तीनै जना पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय दमकमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउन दमक नगरपालिकाको कार्यपालिकाले शुक्रबार बसेको बैठकले निर्णय गरेको छ। नगरपालिकाले प्रहरीलाई आवश्यक प्रक्रिया अगाडि बढाउन सिफारिससमेत गरेको स्रोतले जानकारी दिएको छ।
यो घटना सम्बन्धीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.tiktok.com/@ujyaalokhabar4/video/7546149664353963284?is_from_webapp=1&sender_device=pc










