झापा, कात्तिक ८ । घर नजिकैको बाँस झ्याङमा खेल्दै गर्दा सर्पले टोकेर झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजेतिर शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा वर्ष ५ का सक्षम तामाङ घरनजिकैको बाँस झ्याङ नजिक खेलिरहेको अबस्थामा उनको दायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको हो।
खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।
उनी खेलेको ठाउँ नजिकै गोमन सर्प फेला परेपछि सर्पले टोकेको शंका गरिएको थियो । साँझ ५ बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको शंका लागेर आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले बताएको छ ।









