मोरङ,२८ चैत । मोरङको सुन्दरहरैंचा–९, सलकपुरस्थित श्री कृष्ण प्रणामी मन्दिरमा ५०औं बार्षिक उत्सवमा धर्म–जागनी स्वर्णमहोत्सव हुन गईरहेको छ । वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने यस महोत्सव केवल धार्मिक अनुष्ठानमा ‘धर्म–जागनी स्वर्णमहोत्सव २०८३’ आयोजना गर्न लागेको हो।
स्वर्णमहोत्सव मूल समारोह प्रचार–प्रसार समितिको संयोजनमा आयोजना हुन लागेको यस कार्यक्रमले अहिले नेपाल र भारतसम्म व्यापक चासो र सहभागिता आकर्षित गरिरहेको छ। कृष्णप्रसाद बाँस्तोलाको संयोजकत्वमा ८०१ सदस्यीय मूल समारोह समिति र ३१ उपसमितिहरू सक्रिय रूपमा तयारीमा जुटेका छन्। विसं २०२९ सालमा हेमकर गुरुजीबाट स्थापना गरिएको यस मन्दिरले समाज, शिक्षा र संस्कृतिलाई जोड्ने दीर्घकालीन उद्देश्य बोकेको कार्यक्रमका रूपमा प्रस्तुत भएको छ।
प्रचार–प्रसार संयोजक शरण भट्टराईका अनुसार महोत्सवमा सहभागी हुने हजारौँ भक्तजनका लागि निःशुल्क आवास र भोजनको व्यवस्थासमेत गरिएको छ, जसले आयोजकको सेवाभाव र व्यवस्थापन क्षमतालाई स्पष्ट पार्छ।
यस महोत्सवमा विभिन्न प्रतिष्ठित धर्माचार्य, संत र गुरुजनहरूको उल्लेखनीय उपस्थिति रहनेछ। जैतनपुरी धाम, जामनगरका अनन्त विभूषित जगतगुरु आचार्य श्री कृष्ण्मणिजी महाराज, सुरतका जगतगुरु सूर्यनारायण दासजी महाराज, चतरा धामका वैष्णव सम्प्रदायका जगतगुरु मोहनशरण देवाचार्य लगायत १२ परमहंस पीठका आचार्यगण, विभिन्न संप्रदायका गुरुजन तथा साधु–सन्तहरूको सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय धार्मिक आयाम दिने अपेक्षा गरिएको छ। साथै, नेपाल र भारतका हजारौँ श्रद्धालु, संगीतकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ।
महोत्सव अवधिभर “श्रीमद्भागवत कथा”, “तारतम सागर” पाठ तथा ब्रह्मवाणी जस्ता आध्यात्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। मंगलधाम कालिम्पोङका १०८ महाराज मोहनचार्यजी र जामनगरका १०८ लक्ष्मण देवजी महाराजबाट सातै दिन कथा–चर्चा हुने आयोजकले जनाएको छ। संयोजक कृष्णप्रसाद बाँस्तोलाका अनुसार धर्म र नैतिक शिक्षाको माध्यमबाट कुलतमा फसेका युवाहरूलाई सुधारको अवसर प्रदान गर्ने तथा समाजसेवामा प्रेरित गर्ने उद्देश्य पनि यस कार्यक्रमको मूल मर्म हो। धार्मिक आस्थासँगै सामाजिक
उत्तरदायित्वलाई जोड्ने प्रयासले महोत्सवलाई एउटा रूपान्तरणकारी अभियानका रूपमा स्थापित गरेको देखिन्छ।
२०×४५ मिटरको विशाल पण्डालमा दैनिक करिब ५ हजार श्रद्धालुले कथा श्रवण गर्न सक्ने व्यवस्था गरिएको छ भने २०×३० मिटरको भोजनशालामा एकैपटक २ हजारभन्दा बढी भक्तजनलाई प्रसाद वितरण गर्न सकिने अनुमान गरिएको छ।यो महोत्सवको विशेषता केवल धार्मिक पक्षमा मात्र सीमित छैन।
कार्यक्रमबाट संकलित रकम गुरुकुल सञ्चालनमा प्रयोग गर्ने लक्ष्यले यसलाई अझ अर्थपूर्ण बनाएको छ। आधुनिक जीवनशैली र मूल्य–मान्यतामा आएको परिवर्तनका कारण नैतिक शिक्षा र संस्कार कमजोर बन्दै गएको सन्दर्भमा गुरुकुलको स्थापना तथा सञ्चालनले भावी पुस्तामा धार्मिक तथा नैतिक शिक्षा प्रवाह गर्ने महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
मन्दिर परिसर स्वयं पनि एक सामाजिक केन्द्रका रूपमा विकसित हुँदै आएको छ। डेढ बिघा क्षेत्रफलमा फैलिएको यस स्थलमा मन्दिर, सन्त आवास, पाहुना विश्राम गृह, भान्सा घर, गौशाला र गुरुकुल भवन निर्माण भइसकेका छन्। साथै, स्वर्ण स्तम्भ स्थापना भइसकेको यस परिसरमा अनाथ बालबालिका तथा वृद्ध–वृद्धाहरूका लागि आश्रयस्थललाई अझ व्यवस्थित बनाउने लक्ष्यसहित स्थानीय समुदाय, समिति र श्रद्धालुहरू सक्रिय रूपमा लागिपरेका छन्। चैत्र २८ गते मोटरसाईकल ¥याली गरिएको छ भने बैशाख १ गते विहान कलस यात्रा गरिने आयोजकले जानकारी दिएको छ ।









