दमक,१९ जेठ । दमक नगरपालिकाका मेयर रामकुमार थापाको आगलागीमा नष्ट भएको घर पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट १३ लाख २६ हजार ६ सय ८० रुपैयाँ सहयोग संकलन भएको खुलासा भएको छ।
मेयर थापाले आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार, २०८२ साल भदौ २४ गते राष्ट्रव्यापी आन्दोलनका क्रममा दमक–६ स्थित उहाँको घरमा आगजनी हुँदा घर तथा धनसम्पत्ति पूर्णरुपमा नष्ट भएको थियो। त्यसपछि केही शुभेच्छुकहरूले ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन गरी सहयोग अभियान सञ्चालन गरेका थिए।
सार्वजनिक गरिएको विवरण अनुसार सबैभन्दा धेरै रकम दमक–७ का टिका थापाले २ लाख रुपैयाँ सहयोग गर्नु भएको छ्। त्यसपछि दमक–१ का अम्बरबहादुर कुमाल, अमेरिका बसोबास गर्ने गोपाल प्याकुरेल, दमक–१ का मोहन कुमार थापा तथा मोहम्मद फियाजले जनही १ लाख रुपैयाँ सहयोग गर्नु भएको छ्।
यस्तै दमक–५ का राजु खड्काले एकतर हजार रुपैयाँ, बासुदेव भट्टराईले ५१ हजार १ सय पच्पन्न रुपैयाँ, दमक–९ ठेगाना उल्लेख गरिएको IBTF १५२५९२१ ले ५१ हजार रुपैयाँ, उर्लाबारी–३ का अर्जुन तुम्रुकले ५१ हजार रुपैयाँ सहयोग गर्नु भएको छ्।
५० हजार रुपैयाँ सहयोग गर्नेमा कृष्ण कुमार भण्डारी, सूर्यमान थापा, बालानन्द काफ्ले, डम्बर बहादुर भुजेल र भीमप्रसाद पौडेल रहनु भएको छ्।
सहयोग गर्नेहरूको सूचीमा व्यक्ति मात्र होइन, विभिन्न टोल विकास संस्था र सामुदायिक संगठनहरू पनि छन्। शान्ति टोल विकास संस्थाले पैतालीस हजार ९ सय ७० रुपैयाँ, मखमली टोल विकास संस्थाले २१ हजार रुपैयाँ, हिमशिखर टोल विकास संस्थाले १५ हजार रुपैयाँ तथा सब्जीवाला कोइरी समाजले २० हजार रुपैयाँ सहयोग गरेका छन्।
मेयर थापाले सार्वजनिक गरेको विवरण अनुसार सहयोग रकम १ हजार रुपैयाँ देखि २ लाख रुपैयाँसम्म रहेको छ। कुल उन्नतीस जना व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम १३ लाख २६ हजार ६ सय ८० रुपैयाँ पुगेको छ।









