बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ ।

यो दिवसका दिन बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित भविष्यबारे चर्चा गरिन्छ । तर दिवसका भाषण र नाराभन्दा बाहिर निस्किएर सडक, बजार, होटल, रेस्टुरेन्ट र सार्वजनिक सवारीसाधनतर्फ हेर्ने हो भने वास्तविकता अझै पनि उस्तै देखिन्छ ।

बिहान सबेरै विद्यालयको झोला बोकेर कक्षातर्फ जानुपर्ने उमेरका साना हातहरू कतै गाडीको ढोका समातेर सहचालक बनेका छन्, कतै होटलमा भाँडा माझिरहेका छन्, कतै चिया पुर्याइरहेका छन् । उनीहरूका आँखामा खेल्ने रहर छ, पढ्ने सपना छ, तर जीवनको कठोर यथार्थले ती सपना चुपचाप दबाइदिएको छ ।

सडकमा दौडिने गाडीसँगै दौडिरहेका ती बालबालिका केवल श्रमिक होइनन्, उनीहरू भविष्यका नागरिक हुन् । उनीहरूको हातमा किताब हुनुपर्ने थियो तर आज जीविकोपार्जनको भारी छ । उनीहरूको समय विद्यालयको घण्टीसँग बित्नुपर्ने थियो, तर मालिकको आदेश र कामको चापसँग बितिरहेको छ ।

बालश्रम कानुनी रूपमा निषेधित भएपनि व्यवहारमा यसको अन्त्य हुन सकेको छैन । गरिबी, अशिक्षा, पारिवारिक समस्या र सामाजिक बेवास्ताका कारण हजारौं बालबालिका अझै पनि श्रम गर्न बाध्य छन् । अझ दुःखको कुरा, धेरैजसो अवस्थामा हामीले यस्ता दृश्यलाई सामान्य मान्न थालेका छौं । होटलमा काम गरिरहेको बालक देख्दा, गाडीमा सहचालक बनेको किशोर देख्दा वा पसलमा सामान बोकेको बालबालिका देख्दा हाम्रो ध्यान क्षणभर पनि जाँदैन ।

विश्व बालश्रम विरुद्ध दिवस केवल एउटा औपचारिक कार्यक्रमको दिन होइन । यो समाजलाई प्रश्न गर्ने दिन हो । हामीले बालबालिकालाई कस्तो भविष्य दिइरहेका छौं, के हामी उनीहरूको अधिकारप्रति सचेत छौं ? के हामी बालश्रम देखेर पनि मौन बस्न तयार छौं रु

हरेक बालबालिकाको अधिकार हो शिक्षा, सुरक्षा, खेलकुद र सम्मानपूर्ण बाल्यकाल बिताउन पाउनु । उनीहरूलाई श्रमिक होइन, विद्यार्थी बन्ने अवसर दिनु राज्य, समाज र परिवार सबैको साझा जिम्मेवारी हो ।

आजको दिनमा बालश्रम अन्त्यका प्रतिबद्धता दोहोर्याइरहँदा एउटा प्रश्न फेरि उठ्छ यदि सडक, होटल र गाडीहरूमा बालश्रमिकको संख्या घटेको छैन भने हाम्रो प्रयास कति प्रभावकारी छ रु बालबालिकाको हातमा कामको बोझ होइन, सपनाको उज्यालो हुनुपर्छ । किनकि बाल्यकाल एकपटक मात्र आउँछ, र त्यो बालश्रमको अँध्यारोमा होइन, शिक्षाको उज्यालोमा बित्नुपर्छ ।

बालश्रम अन्त्यका लागि कानुन बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक हुन्छ । स्थानीय तहदेखि संघीय सरकारसम्मका निकायले नियमित अनुगमन, उद्धार र पुनस्र्थापनाका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउने प्रयास अझ सशक्त बनाउनुपर्ने देखिन्छ ।

त्यस्तै, समाजका हरेक नागरिकको पनि महत्वपूर्ण भूमिका हुन्छ । बालबालिकालाई काममा लगाउने व्यवसाय वा व्यक्तिलाई प्रोत्साहन गर्नुको सट्टा सम्बन्धित निकायलाई जानकारी गराउने, बालअधिकारबारे सचेतना फैलाउने र जोखिममा रहेका बालबालिकाको संरक्षणमा सहयोग गर्ने संस्कार विकास गर्न आवश्यक छ । बालश्रम केवल सरकारको मुद्दा होइन, यो सम्पूर्ण समाजको जिम्मेवारीको विषय हो ।

आज विश्व बालश्रम विरुद्ध दिवस मनाइरहँदा हामीले केवल औपचारिक शुभकामना र प्रतिबद्धतामा सीमित नभई व्यवहारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ । कुनै पनि बालबालिका विद्यालयको साटो कार्यस्थलमा भेटिनु समाजका लागि चिन्ताको विषय हुनुपर्छ । जबसम्म प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानित र शिक्षित बाल्यकाल प्राप्त गर्दैनन्, तबसम्म बालअधिकारको लक्ष्य पूर्ण रूपमा हासिल भएको मान्न सकिँदैन । बालबालिकाको स्थान कार्यस्थलमा होइन, विद्यालय, खेलमैदान र परिवारको स्नेहपूर्ण वातावरणमा हुन आवश्यक छ । उनीहरूको वर्तमान सुरक्षित भए मात्र राष्ट्रको भविष्य सुरक्षित हुन्छ । त्यसैले बालश्रमविरुद्धको आवाज केवल आजका लागि होइन, वर्षका हरेक दिन बुलन्द हुन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने

काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

काठमाडौं,२९ जेठ। सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै

बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन