प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताउनु भयो।

 

‘उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो,’उहाँले भन्नु भयो। ओलीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गर्नु भएको छ। ‘त्यस्तो अवस्थामा हामीले जनताको बहुदलीय जनवादको प्रकाशमा एउटा बाटो लियौँ,’ उहाँले भन्नु भयो। उहाँले एमालेका नीति सही रहेको दाबी गर्दै पार्टी कुनै विचार वा नीति परिवर्तन गर्न एकता–एकीकरणको छलफलमा नरहेको बताउनु भयो।

 

उहाँले भन्नु भयो,‘हाम्रा नीतिहरू बिल्कुल सही छन्। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा सही नीति निर्धारण गरेका छौं ।’ ओलीले एमालेको गन्तव्य ’समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गर्दै त्यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा व्याख्या गर्नु भएको छ। ‘हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो। समाजवाद भनेको यही हो,’ उहाँले बताउनु भयो। उहाँले वर्तमान सरकार प्रतिगमनको उपज भएको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाइएको दाबी गर्नु भएको छ।

 

ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप पनि लगाउनु भयो। ‘हामीले देश बर्बाद पारेका होइनौँ। झुटा प्रचार गरेर हामीलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने काम गरियो । हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ, प्रतिगमनवादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। हाम्रो विजय अवश्यंभावी छ,“ उहाँले भन्नु भयो। उहाँले वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको तथा राष्ट्रिय हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि