दमक,१९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा विद्युत् सर्टका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बिहान करिब १०ः४५ बजे स्थानीय चुडामणि गुरागाईको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा अचानक आगलागी भएको हो।
आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य घरायसी सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै घरसमेत पूर्ण रूपमा ध्वस्त हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुईवटा दमकलको संयुक्त प्रयासमा आगो करिब ११ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। प्रहरीले आगलागीको कारण विद्युत् सर्ट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।









