काठमाडौँ,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सम्पन्न सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा विकसित पछिल्ला संवेदनशील घटनाक्रमबारे गम्भीर समीक्षा गर्दै सामाजिक सद्भाव, शान्ति र संवाद मार्फत समाधान खोज्न संयुक्त अपिल जारी गरेको छ।
बैठकपछि जारी वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
दलहरूले नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि प्रकारका उत्तेजक तथा अवाञ्छित गतिविधिमा नलाग्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्। वक्तव्यमा आवेग र मुठभेडले समस्याको समाधान नगर्ने, बरु थप जटिलता निम्त्याउने उल्लेख गरिएको छ।







