काठमाडौं,२४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताउनु भएको छ ।आइतबार सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामथ्र्य थप मजबुत बनाउने बाताउनु भएको छ ।
उहाँले भन्नु भयो, ‘नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकतले हाम्रो राष्ट्रिय सामथ्र्य बढाउने छ ।’ओलीले नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताउनु भयो ।
उहाँले विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना व्यक्त गर्नु भयो । उहाँले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्ने बताउनु भयो।उहाँले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैमा आह्वान समेत गर्नु भएको छ ।









