काठमाडौं,२४ भदौ । नेकपा एमाले का सचिव महेश बस्नेतले गत भदौ २३ गते भएको आन्दोलनमा बाहय तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको आरोप लगाउनु भएको छ।भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताउनु भयो । तर आन्दोलनमा बाहय शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उहाँले बताउनु भयो।‘भदौ २३ गते भएको आन्दोलनमा सबैको समर्थन थियो, हाम्रो पनि कुनै आपत्ति थिएन,’ बस्नेतले भन्नु भयो, ‘तर जब त्यो आन्दोलनमा साम्राज्यवादी शक्तिहरूको स्रोत–साधन परिचालन गरियो, राज्यका सेना, प्रहरीलगायत निकायहरू मूल दर्शक बने र जानेर वा नजानेर सहयोगी भए ।’
त्यसपछि आन्दोलन सामान्य विरोध प्रदर्शनमा सीमित नरही मुलुक माथिको गम्भीर आक्रमणको स्वरूपमा परिणत भएको उहाँले बताउनु भयो।उहाँले बाहय शक्तिले नेपाललाई आफ्नो चङ्गुलमा फसाउने प्रयास गरेको आरोप लगाउँदै नयाँ पुस्ताका युवाहरूलाई प्रयोग गरिएको बताउनु भयो। उहाँका अनुसार यस क्रममा मुलुकको सम्पत्ति नष्ट हुने अवस्था सिर्जना भएको थियो।‘कुनै बम पड्काउन परेन, कुनै मिसाइल पड्काउन परेन, कुनै आक्रमणका लागि स्थान तय गर्न परेन । हाम्रा नेपाली युवालाई नै त्यो ढङ्गले प्रयोग गरियो,’ उहाँले भन्नु भयो।
बस्नेतले आन्दोलनका क्रममा आर्थिक स्रोत परिचालनसँगै सामाजिक सञ्जालको समेत व्यापक प्रयोग गरेको बताउनु भयो । उहाँले फेक आइडी बनाएर राष्ट्र, देश र संस्थागत मूल्य–मान्यताको पक्षमा बोल्ने तथा विकास र राष्ट्रवादको पक्षमा धारणा राख्नेहरूलाई सामाजिक रूपमा नकारात्मक देखाउने प्रयास भएको आरोप लगाउनु भयो ।










