काठमाडौं , असोज १०। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटाहरू अहिले धमिलिँदै गएका छन् । तर ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ भने एक महीनापछि पनि उस्तै छ ।गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा आफन्तले अस्पतालको भित्तामा आफ्ना परिवारका सदस्य तथा आफन्तका तस्वीर टाँसेका थिए । बाढी आएको एक महीना बितिसक्दा तस्वीरका मसी र अक्षरहरू विस्तारै मेटिन थालेका छन् । तर कुन तस्वीरसँग जोडिएको परिवारले अझैं आफ्नो आफन्तको अवस्था थाहा पाउन सकेका छैनन ? भन्ने प्रश्न भने बाँकी नै छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी हालसम्म ५ हजार २८५ जना बेपत्ता छन् । बाढीमा १ हजार ४५१ जनाको शव फेला परिसकेको छ भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ । बेपत्ता व्यक्तिको पहिचान तथा खोजीका लागि अहिलेसम्म २ हजार ६० जनाको डीएनए नमूना संकलन गरिएको छ । सुरक्षा निकाय र सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य अझै जारी छ ।
एक महीना बितिसक्दा पनि बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि समयले अनिश्चितता मात्रै थपेको छ । अस्पतालको भित्तामा टाँसिएका तस्वीरमध्ये केही पुराना र च्यातिन थालेका छन् । केहीमा लेखिएका नाम र सम्पर्क विवरणसमेत धमिलिँदै गएका छन् ।भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । बाढीबाट ७० हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक विवरण छ । धेरै परिवार विस्थापित भएका छन् भने टिमुरे, स्याफ्रुबेँसीलगायतका बस्तीमा ठूलो क्षति पुगेको छ ।बाढीमा बेपत्ता भएकाहरूको परिवारका लागि भने पुनर्निर्माणभन्दा पहिले हराएका आफन्तको खोजी र पहिचान प्रमुख विषय बनेको छ । एक महीनापछि बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजीको गति विस्तारै बदलिँदै गए पनि अस्पतालको भित्तामा टाँसिएका तस्वीरहरूले अझै हराएका मानिसहरूको कथा सम्झाइरहेका छन् । भित्तामा रहेका अनुहारका रेखा बिस्तारै मेटिँदै छन् । तर ती तस्वीर टाँस्ने परिवारका लागि आफ्नो आफन्त फर्किने आशा अझै मेटिएको छैन ।









