पथरी, २ कार्तिक / २ हजार भन्दा बढी विद्यार्थी संख्या रहेका सामुदायिक विद्यालयहरूलाई सरकारले पूर्वाधार निर्माणमा सहयोग पुर्याउने क्रममा मोरङको नमुना विद्यालयका रूपमा रहेको पथरी शनिश्चरेस्थित पञ्चायत माविले ६ करोड रूपैयाँको योजना पाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ । प्रति विद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको उल्लेख छ ।

कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन्, जहाँ झापा र मोरङका ६–६ वटा सहितका विद्यालय सूचीकृत छन् । जसमा ३ हजार विद्यार्थी संख्या रहेको पञ्चायतकासाथै सुन्दरहरैंचाको सुकुना मावि, साजीलाल मावि, उर्लाबारीको राधिका मावि, विराटनगरको पोखरिया मावि र आदर्श मावि छानिएका छन् । पहिलो चरणमा निकासा भएको ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा, ८९ मध्ये ३७ प्रतिशतभन्दा बढी अर्थात् ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन् ।
दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।









