ताप्लेजुङ ,२३ कार्तीक। सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक मनाएका छन । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि विधिगत पूजापाठ गरेर औंसीको दिन आज समापन गर्न लागेका हुन ।फक्ताङलुङ गाउँपालिका(७ का वडा अध्यक्ष तथा ओलाङचुगोलाका स्थानीय छेतेन लामाका अनुसा पर्वको रौनक ओलाङचुगोलामा मात्र मनाउँने गर्दछन् । वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको यो मौलिक सांस्कृतिक पर्व परापूर्वकालदेखि नै धुमधामसँग मनाउने गरिएकामा दश दिनसम्म मनाइने यस मौलिक पर्वमा पाहुनाहरुका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा आँउनु भएको छ ।
यस पर्वमा सुरुदेखि अन्तिमसम्ममा लामाले बौद्ध धर्मसंस्कारअनुसार पूजा पाठ गर्नु हुन्छ। आइतबार(लक्ष्मी पूजा)को दिन मुख्य पूजाको समय मानिन्छ । पर्वको अवधिभर हरेक दिनको मध्यरात लामाले पूजा पाठ गर्नाका साथै देव नृत्यसमेत देखाउने गर्नु हुन्छ । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्दा त्यहाँबाट निस्केको घ्यू र तेलको धुवाँले गुम्बाको धुरी नाघेमा शुभ हुने धार्मिक विश्वास गरिन्छ ।फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ भने प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पूजा समापन गरिन्छ । स्थानीयवासीका अनुसार पर्वमा सहभागी लामाहरुले देवता र राक्षसको मुखुन्डो लगाएर दुबै पक्ष बीचको युद्धको अभिनय गरी नृत्य देखाउने गरिन्छ । पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बसेका छन् । ओलाङचुङगोलामा साढे चार सय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ ।
यो वर्ष फुटुकमा अमेरिका,भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार भक्तजनकारुपमा सहभागी भएको लामाले बताउनुभयो ।समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङचुङगोलामा एकमात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । यहाँ हाल वालुङहरु ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने जिल्लाकै उच्च बस्ती याङ्मा ४,२०० मिटर मा ११ परिवार बसोबास गर्दै आएका छन् ।










