"मुख्यमन्त्रीको नालीबेली"

नयाँ मुख्यमन्त्री बन्नु भएका आचार्यको राजनैतिक यात्रा कहिले देखी ?

 

दमक/
बिहिबार प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाएको छ । तत्कालिन मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश १ संसदीय दलको नेता र मुख्यमन्त्रीको पदबाट राजीनामा दिएसँगै नेकपा एमालेका केन्द्रिय सचिब भिम आचार्य प्रदेश १ को संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नबनियक्त मुख्यमन्त्री आचार्यले बिहिबारै पद तथा गोपनियताको सपथ समेत लिनुभएको छ ।

आफ्नै समूहको नेतृत्व गर्न नसकेको आरोप खेप्दै आउनुभएका भीम आचार्य मुख्यमन्त्रीको तेश्रो पटकको दौडमा सफल हुनुभएको छ । दलभित्र बहुमत पकड भएर पनि ०७४ माघ २६ गते सम्पन्न भएको नेकपा एमाले संसदीय दलको निर्वाचनमा शेरधन राईसँग २ भोटले पराजित हुनुभएको थियो ।

त्यसपछि केन्द्र सरकारका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद् विघटन गरेका समयमा माओवादी केन्द्रको दबाबमा तत्कालिन मुख्यमन्त्री शेरधन राई विरुद्ध ल्याईएको अविश्वासको प्रस्ताव पनि अन्तिममा फिर्ता लिनुपरेपछि आचार्यको मुख्यमन्त्री बन्ने सपना दोश्रोपटक पनि बिपना बन्न सकेन । तर, बिहिबार प्रदेश १ को मुख्यमन्त्रीको पदबाट शेरधन राईले राजिनामा दिएसँगै प्रदेशको नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको हो ।

विद्यमान राजनितिक घटनाक्रम र उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर आफुले राजिनामा दिएको निर्वतमान मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

बिहिबार विराटनगरको एक होटलमा बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा संसदीय दलको नेता र मुख्यमन्त्रीको पदबाट शेरधन राईले राजिनामा दिएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको थियो । संविधानको धारा १६८ (१) बमोजिम शेरधन राई नेतृत्वको सरकार विघटन गरि सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्यले यसलाई पार्टीलाई समाप्त पार्न भईरहेको षड्यन्त्र तथा पार्टीलाई एकताबद्ध बनाउने प्रयासको रुपमा लिन आग्रह गर्नुभएको थियो ।

को हुन मुख्यमन्त्री आचार्य
बिहिबार प्रदेश १ को मुख्यमन्त्रीको सपथ लिनु भएका भीम आचार्यको राजनितैक यात्रा ४५ वर्ष लामो राजनैतिक यात्रा छ । पटक पटक जेल जीवन पनि जिउनु भएका आचार्यले नेपाली नागरिकको हक हितका लागि विभिन्न वर्गीय संघर्षको आन्दोलन गर्दा तत्कालीन सरकारबाट गिरफ्तार पनि हुनु भएको थियो ।

धनकुटाको साविक तेलिया गा.वि.स. वडा नं. ६, धनकुटामा जन्मनु भएका भीम आचार्यको अहिले सुनसरीको इनरुवा नगरपालिका वडा नं-६मा बस्नु हुन्छ । आचार्यको जन्म २०१६ वैशाख १४ गते धनकुटामा भएको हो । बुबा बाला प्रसाद आचार्य र आमा लक्ष्मी देवी आचार्यका छोरा उहाँको १ छोरी १ छोरा रहेका छन् । श्रीमती नीरादेवी आचार्यसँग उहाँको विवाह भएको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका उहाँ २०३२ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनितीमा लाग्नु भएको हो । त्यसपछि उहाँ २०३५/०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय सहभागीता जनाउनु भयो । यसैक्रममा २०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियु सचिवमा अनेरास्ववियुबाट उहाँ निर्वाचित पनि बन्नु भएको थियो । २०३८ सालमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौरको स्ववियु सचिवमा निर्वाचित बन्नु भएको थियो ।

२०३८ सालमै तत्कालिन नेकपा (माले) को युथ लिगको सचिव पनि उहाँ बन्नु भएको थियो । यसपछि २०३९ सालमा सम्पन्न अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलनबाट महासचिवमा आचार्य निर्वाचित बन्नु भएको थियो । नेकपा (माले) लिडिङ युथ लिगको सचिवमा २०३९ सालमा निर्वाचित बन्नु भएका आचार्य २०४१ सालमा राजकाज मुद्दा अन्तर्गत २ वर्ष जेल र पटक पटक गरी ११ पटक गिरफ्तार पनि हुनु भएको थियो ।

२०४४ सालमा नेकपा (माले) उपत्यका विद्यार्थी क्षेत्र हेर्ने पार्टी जिल्ला कमिटीको सचिव र अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य हुँदै २०४६ सालको जनआन्दोलनमा नेकपा (माले) द्वारा गठित “प्रजातान्त्रिक आन्दोलनको नेतृत्व पनि गर्नुभयो । २०४६ सालको जनआन्दोलनको योजना निर्माणमा संलग्न र सक्रिय सहभागीता जनाउनु भएका आचार्यले वि.सं. २०४७- २०५५ सम्म नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको सचिवको जिम्मेवारी समाल्नु भएको थियो । २०५४ सालमा नेपालगंजमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित बन्नु भएपछि २०५७ / ०५८ मा पार्टी केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी उहाँलाई पार्टिले दिएको थियो । वि.सं. २०५८ देखी २०६५ सम्म पार्टीको कोशी अञ्चल ईन्चार्ज बनेर काम गर्नु भएका आचार्यले यहि विचमा २०६४ देखि हालसम्म संविधान सभा सदस्य पनि बन्नु भयो ।

वि.सं. २०६५ २०६९ सम्म नेकपा (एमाले) संसदीय / संविधान सभा दलको प्रमुख सचेतक बनेर महत्वपूणर् ऐन , नियम र कानुन निर्माणमा पनि उहाँले महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको थियो । २०७० सालमा गठित मन्त्री मण्डलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेर सफल कार्यकाल सम्हाल्नु भएका आचार्य नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित पनि बन्नु भयो । हालः उहाँ नेकपा (एमाले) १ नं. प्रदेश संगठन कमिटीको संयोजक हुनुहुन्छ ।

Share: