खुम्बु क्षेत्रको पदयात्रामा उपसभामुख

 

सोलुखुम्बु  जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरसहितको टोली विश्वको अग्लो हिमाल सोलुखुम्बुस्थित सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएको छ ।

उपसभामुख रानामगरसहितको टोलीले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा खुम्बु क्षेत्रको पदयात्रा सुरु गरेको हो । खुम्जुङमा हिमाली भेगका महिलामा परेको असरबारे अन्तरक्रिया गर्नका लागि उपसभामुखसहितको टोली खुम्बु पुगेको हो । साथसाथै फाउण्डेशनले आयोजना गरेको यो पदयात्रामा राष्ट्रियसभा सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा.विमला पौड्याल राई, अभियान्ताहरु शरु श्रेष्ठ जोसी, यमुना घले, कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटी, साथसाथैका अध्यक्ष प्रजिता कार्की, जलबायु विज्ञ डा. माधव कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतसहितको सहभागिता छ ।

परम्परागत भन्दा नौलो र उदाहरणीय कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने पदयात्राको सुरु गरेको आयोजकको भनाइ छ । यो पदयात्राले वातावरणीय न्यायका लागि जलवायु परिवर्तनका असरविरुद्ध महिलाको आवाज बुलन्द गर्ने समेतको ध्यानाकर्षण गराउने कार्यक्रमको उद्देश्य रहेको छ ।

अघिल्लो वर्ष ‘कालापत्थर घोषणापत्र’ जारी गर्दै यस क्षेत्रमा बर्सेनी कार्यक्रम गर्ने र स्थानीयको आवाजलाई अन्तराष्ट्रियकरण गर्ने योजना योजना अनुसार कार्यक्रम लागिएको संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न हरसम्भव प्रयास गर्ने संस्थाले बताएको थियो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp