Search
Close this search box.

 

विराटनगर  विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबि)ले छानविन सुरु गर्ने भएको छ ।

सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानविनका लागि अनुमति दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान सुरु गरिने भएको हो । मोरङ प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक पोखरेलले दिएको जानकारी अनुसार तत्काल अनुसन्धान सुरु गर्न लागिएको छ ।

सिआइबीले हाल प्रहरी नियन्त्रणमा रहेकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई पनि अनुसन्धानको दायरामा ल्याउने छ । यस्तै सिआइबिले अध्यक्ष केदारनाथ शर्मा तथा अन्य संचालक तथा व्यवस्थापकहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागेको छ ।

‘हामीलाई सहकारी विभागले र केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि अनुसन्धान गर्न पत्राचार भइसकेको छ,’ पोखरेलले भने, ‘एक दुई दिनमै अनुसन्धान सुरु हुनेछ ।’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले संचालक समितिका साथै व्यवस्थापकहरुको सम्पत्ती रोक्का राख्ने, बैंक खाता रोक्का गर्ने र अनुसन्धान सिआइबीले गर्ने विषयमा सहकारी विभागले पत्राचार गरेको जानकारी दिए । उक्त सहकारीमा सर्वसाधरणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् । सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी सम्पर्कबिहीन छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमै रहेका छन् । उपाध्यक्ष गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्टारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन् ।

यसैबीच बचतकर्ताहरुको अत्याधिक दबाब आएपछि उपाध्यक्ष गौतमले सबै संचालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन् । उनले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी, आदित्यराज भट्टराईको तीन पुस्ते विवरण बुझाएकी हुन् ।

विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौंको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अहिले संकटमा छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । तुलसी सहकारी विराटनगरको ठूलो सहकारी हो । यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । विराटनगरका ५ हजार जनाबाट मात्रै झण्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरु बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकममात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp