खोटाङ / जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता भएको खुलासा भएको छ । उक्त कार्यक्रमअन्तर्गत कामै नगरी रकम निकासा भएको हो ।
गत साउनदेखि सुरु हुनुपर्ने निःशुल्क गर्भवती जाँच कार्यक्रम नै नगरी ८ लाख रुपैयाँ निकासा भएको फेला परेको हो । अस्पताललाई प्रदेश सरकारले उपलब्ध गराएको १० लाखमध्ये उक्त रकम खर्च गरिएको हो । तत्कालीन निमित्त प्रमुख ल्याब असिस्टेन्ट विमल देवले काठमाडौंस्थित एमआरएस सप्लायर्सको नाममा खर्च गरेको पाइएको अस्पताल स्रोतले जनाएको छ । अस्तालका अनुसार यसमा संलग्नले अनियमित तरिकाले खर्च गरिएको रकम फिर्ता गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।
गर्भवतीका रगत, भिडियो एक्सरेलगायत सम्पूर्ण जाँच निःशुल्क गर्नुपर्नेमा फागुन २ सम्म शुल्क लिएर जाँच गरिएको थियो । फागुन २ मा अस्पताल व्यवस्थापन समितिको बैठक राखेर निःशुल्क गर्भवती जाँच सुरु गरिएको अस्पतालका प्रमुख डाक्टर दिपेश परियारले बताए ।
आर्थिक अनियमितताको गुनासो आएपछि अस्पतालले एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने गरी तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ ।