विराटनगर / सीमावर्ती विराटनगरको महाभारतकालीन विराट् राजाको दरबार रहेको क्षेत्र मानिएको भेडियारीमा नेपाली सेनाले संग्रहालय निर्माण गरेर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर महानगरपालिकाले यसलाई भारतको विहारस्थित पूर्णियासम्म निर्मित महाभारत सर्किटसँगै नेपालका धार्मिक क्षेत्रलाई जोड्ने गुरुयोजनासाथ संरक्षण र पुनर्निर्माणको कामसमेत अघि बढाउने तयारी गरेको छ । त्यसका लागि महानगरले चालु वर्षमा उक्त क्षेत्रको विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ । पहिले त्यस क्षेत्रमा भेटिएका विभिन्न पुरातात्त्विक महत्त्वका वस्तु स्थानीयले संरक्षण गरिराखेका थिए । तर पछिल्लो समय सेनाको पहलमा भौतिक पूर्वाधारसहितको संरचना तयार भएपछि संग्रहालय सञ्चालन गर्ने उद्देश्यका साथ विराटनगर महानगरलाई जिम्मा दिइएको हो ।
विराटनगर–१८ भेडियारीमा सेनाको पहलमा भैरव गण मोरङले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वर्द्धन गर्ने उद्देश्यले १९ लाख ७६ हजार रुपैयाँको लागत एवं सैनिकहरूको श्रमदानमा संग्रहालय निर्माण गरिएको जनाइएको छ । संग्रहालयमा विराट् राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुँडा, सामग्री एवं मुद्राहरू राखिएका छन् । भेडियारीको ८ बिघा ३ कट्ठा १७ धुर क्षेत्रफलमा दरबार क्षेत्र फैलिएको छ । यसलाई राजा विराट्को राजधानी तथा मत्स्य देशको नामले चिन्ने गरिएको किंवदन्ती छ । पाँच पाण्डव र द्रौपदीले गुप्तवासको समयमा नाम परिवर्तन गरी विराट् राजाको दरबारमा लुकेर बसेको किंवदन्ती छ ।
यो क्षेत्रलाई स्थानीय तह र स्थानीयवासीले विभिन्न कालखण्डबाट संरक्षण गर्दै आएका थिए । विराटनगर महानगका प्रमुख नागेश कोइरालाका अनुसार भारत सरकारले नजिककैको विहारस्थित पूर्णियासम्मको क्षेत्रलाई महाभारत सर्किटमा समेटेको छ । यतातिरको विराट् दरबार क्षेत्रको किचकबध, अर्जुनधारालगायत ठाउँलाई त्यो सर्किटमा जोड्न सके विराटनगरसहित कोशी प्रदेशकै धार्मिक पर्यटनको ठूलो सम्भावना बढ्ने छ ।
सर्किट निर्माणसँगै उक्त दरबार क्षेत्रमा महाभारतकालको वस्तुस्थिति झल्कने गरी भेडियारी संरक्षण तथा दरबार पुनर्निर्माणको योजनासाथ काम गरिरहेको उनले बताए । कोइरालाका अनुसार दरबार क्षेत्रमा लुम्बिनीकै मोडलमा काम गर्न सकिने थप सम्भाव्यता बारे पनि अध्ययन भइरहेको छ । उनले विराटनगरको उक्त प्राचीन एवं ऐतिहासिक दक्षिणी क्षेत्रको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको बताउँदै दरबार क्षेत्रमा मात्र पर्ने एक बिघा १० धुर जग्गाको संरक्षण गर्न दत्तचित्त भएर लागेको बताए । ‘चालु आवमा उक्त क्षेत्रको विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘व्यक्तिसँग भएका पुरातात्त्विक वस्तु पनि महानगरको स्वामित्वमा ल्याउन पहल गर्दैछौं ।’
२०२७ सालमा पुरातत्त्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचीनकालमा प्रचलनमा रहेका ४० वटा पञ्चमार्क नामक चाँदीको मुद्रा फेला पारेको थियो । योबाहेक स्थानीयले सुराही, भाँडावर्तन, गहनालगायत वस्तु फेला पारेका थिए । दरबार खोज तथा संरक्षण समितिको नाममा फेला परेका सामग्री स्थानीय कमलकिशोर यादवले राखेका छन् । उनले ती सामग्री संग्रहालयलाई हस्तान्तरण गर्न बाँकी छ । उनले आफूले वर्षौंदेखि बहुमूल्य सम्पदा एवं सामग्रीको संरक्षण गरेर राखेको हुनाले महानगरले उचित रकम वा पारितोषिक दिनुपर्ने माग गरेका छन् ।
‘पहरेदार र संरक्षण भएर काम गरेको छु, फिर्ता गर्न रकम वा पारितोषिक लिनु मेरो हक हो,’ उनले भने । १८ नम्बर वडा कार्यालयका अनुसार उनले पर्यटकलाई ती सामान देखाएर व्यापार गर्दै आएका छन् । वडाअध्यक्ष जितेन्द्रकुमार साहले पनि यादवले यस क्षेत्रका पुराना र पुरातात्त्विक महत्त्वका सामान महानगरलाई दिनै नमानेको बताए ।