विराटनगर / आइतबार भएको स्ववियु निर्वाचनमा मोरङ जिल्लाका ६ वटा क्याम्पसको मत परिणाम आएको छ।
नर्सिङ क्याम्पसमा भने अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छन्। विराटनगरको स्तातकोत्तर क्याम्पसमा अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन्। लेटाङ क्याम्पसमा अनेरास्ववियुका छवि श्रेष्ठ र रमाइलोमा मालती रेग्मी विजयी भएका हुन्।
मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको छ। क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेसनिकट नेविसंघका विवेक कार्की निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेनिकट अनेरास्ववियुकी प्रीति दाहाल पराजित भएकी हुन्। सचिवमा नेविसंघका देवेन्द्र पौडेल विजयी भएका छन्।
मोरङको केराबारीमा रहेको खदम क्याम्पसमा भने अखिल क्रान्तिकारीको प्यानल नै निर्विरोध भएको छ। उक्त क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका सिमान्त लुइँटेल निर्विरोध भएका हुन्।
यता, विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको मतगणना भने अझै हुन सकेको छैन। आइतबार मतदान सकिएको भए पनि विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा मतगणना हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ। सुकुना क्याम्पसमा सोमबार मतदान भइरहेको छ।