सुनसरीमा समाजवादी र सप्तकोशीमा अनेरास्ववियु विजयी

 

सुनसरी  सुनसरी बहुमुखी क्याम्पस इनरुवाको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा समाजवादी विद्यार्थी युनियनका देवकुमार यादव निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार जम्मा खसेको ४ सय ७१ मतमध्ये यादवले २ सय ६० मत प्राप्त गर्दै सभापतिमा विजयी बनेका हुन् ।

सुनसरी क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी सङ्घ र प्राज्ञिक विद्यार्थी समूहबीच चुनावी तालमेल थियो भने नेपाल विद्यार्थी सङ्घ एक्लै चुनावी प्रतिस्पर्धामा थियो ।यादवका निकटतम् प्रतिद्वन्दी नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नन्दन गुप्ताले १ सय ९९ मत प्राप्त गरे ।

यस्तै सचिवमा २ सय ३४ मत प्राप्त गरी अनेरास्ववियुका दिब्सन कार्की निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेविसङ्घका सुदीपकुमार मेहताले २ सय १८ मत प्राप्त गरे । कोषाध्यक्षमा लोकतान्त्रिक विद्यार्थी सङ्घकी आरती मेहताले २ सय २४ मत प्राप्त गर्दै निर्वाचित भइन् । निकटतम् प्रतिद्वन्द्वी नेविसङ्घकी अनुकुमारी मण्डलले १ सय ७७ मत प्राप्त गरिन् ।

यस्तै सदस्यहरूमा अखिल क्रान्तिकारीका सन्तोष मण्डल, अरुण महतो निर्वाचित भए भने अनेरास्ववियुकी मन्दिरा काफ्ले, प्राज्ञिक विद्यार्थी समूहकी सुस्मिता कुमारी उराँव र नेविसङ्घका नीरज शर्मा निर्वाचित भएका छन् ।

यस्तै सप्तकोसी क्याम्पस चक्रघट्टीको सभापति अनेरास्ववियुका उम्मेदवार २ मतले विजयी भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा जम्मा ६ सय २ मतदाता रहेकोमा ४ सय ९९ मत खसेकोमध्ये २ सय ४३ मत ल्याएर अनेरास्ववियुका चित्रमान राई सभापति निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेविसङ्घका मार्शल तामाङले २ सय ४१ मत ल्याए ।

यस्तै सचिव पदमा अनेरास्ववियुका सुजन बस्नेतले २ सय ६९ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी शिशिर तामाङले २ सय ४ मत ल्याए । यस्तै कोषाध्यक्षमा सन्जु खड्का २ सय ५६ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी गङ्गामाया थापाले २ सय १७ मत प्राप्त गरिन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp