विराटनगर / कोशी प्रदेश सरकारले विराटनगरको सीमावर्ती क्षेत्रमा प्रवेशद्वार बनाउने भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नाका रानीमा प्रवेशद्वार निर्माण गर्ने भएको हो ।
प्रवेशद्वारको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेका छन् ।
निर्माण स्थलको टुंगो नहुँदा प्रदेश सरकारले २ वर्ष अगाडि नै टेण्डर लगाएको स्वागतद्वार र आकाशे पुलको शिलन्यास भएको हो । निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ असार १४ गते काम सकिनुपर्ने थियो । तर, भन्सारले निर्माणमा अवरोध गरेपछि काम हुन सकेको थिएन ।
निर्माणस्थलबारे भन्सारसँग सहमति भएपछि सम्झौता मितिलाई पुनः कार्यदेशमार्फत मिति परिवर्तन गर्दै फागुन २६ गतेदेखि २०८१ साल फागुन २५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ ।
स्वागतद्वारा तथा आकाशे पुल ७ करोड ७६ लाख ४८ हजार लागत अनुमान गरिएको थियो । तर, ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ । सहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई १ करोड ३० लाख मोबिलाइजेशन बापतको रकमसमेत भुक्तानी दिइसकेको छ ।
प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ्गले त्रिपक्षीय लागत साझेदारीमा स्वागतद्वारा निर्माण गर्ने तय भएको थियो । काम थाल्न लाग्दा गेट र आकाशे पुल दशगजामा पर्ने भनेर रोकिएको थियो । सो आयोजनमा ७५ प्रतिशत प्रदेश सरकारले, २५ प्रतिशत विराटनगर महानगरले र ५ प्रतिशत उद्योग संगठन मोरङले लगानी गर्ने जनाइएको छ ।