परीक्षा केन्द्र सारिएकोमा नेविसङ्घको आपत्ति

 

सुनसरी  सुनसरी सदरमुकाम इनरुवास्थित  सुनसरी बहुमुखी क्याम्पस इनरुवाबाट परीक्षा केन्द्र अन्तै सारिएको विषयमा नेपाल विद्यार्थी सङ्घ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले आपत्ति जनाएको छ् ।

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्न लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र इटहरीमा सारिएपछि नेविसङ्घले बिहीबार विज्ञप्ति निकाल्दै परीक्षा केन्द्र यथावत् राख्न माग गरेको छ ।

विज्ञप्तिमा त्रिविद्वारा सञ्चालन हुनलागेको स्नातक तह चौथो वर्षका विद्यार्थीहरूको परीक्षा केन्द्र गत बुधबार एक्कासि सुनसरी बहुमुखी क्याम्पस इनरुवाबाट सारेर जनता बहुमुखी क्याम्पस इटहरीमा लगिएको सूचना प्राप्त भएको कारण नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाल विद्यार्थी सङ्घ  सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज मियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा परीक्षा केन्द्र एक्कासि जनता बहुमुखी क्याम्पस इटहरीमा सारिएपछि सुनसरी बहुमुखी क्याम्पस इनरुवाका विद्यार्थीलगायत अन्य क्याम्पसका विद्यार्थीहरूले आवत–जावत गर्नको लागि धेरै नै दुःख पाउने उल्लेख छ ।

सुनसरी बहुमुखी क्याम्पसलगायत अन्य क्याम्पसहरूका विद्यार्थीहरूले आवत–जावतको कारण दुःख नपाउन् भन्ने हेतुले उक्त परीक्षा केन्द्र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा शनिबारसम्म यथावत् राखिदिनको लागि अनुरोध गरेको छ ।

उल्लेखित समयभित्र परीक्षा केन्द्र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सञ्चालन नभएको खण्डमा नेपाल विद्यार्थी सङ्घ, सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासन भवनमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनीसमेत दिएको छ । साथै उक्त तालाबन्दीबाट विद्यार्थीहरू र क्याम्पसमा उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवार क्याम्पस प्रशासन हुने नेविसङ्घको भनाइ छ ।

 

Share: