दमक/
भोली सुनसरीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई गरिने नागरिक अभिनन्दन कार्यक्रम गर्न जिल्ला प्रशाषनले अनुमति दिएको छैन ।
कार्यक्रमका लागि केही दिनअघि नै आयोजकका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा अनुमति मागिएको थियो । तर, जिप्रकाले अनुमति दिन अस्वीकार गरेको छ । सुरक्षाको कारण देखाउँदै जिप्रकाले अनुमति नदिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा जिप्रका सुनसरीका प्रवक्ता माधवप्रसाद ढुंगानाले नागरिक अभिनन्दनका लागि आफूहरुले अनुमति नदिएको बताउनु भयो ।
‘उहाँहरुले कार्यक्रमका लागि अनुमति माग्नुभएको थियो, तर पहिचानवादीको आन्दोलन तथा स्वयम् पूर्वराजाको सुरक्षालाई हेरेर हामीले अनुमति नदिएका हौं,’ ढुंगानाले भने ।
तर, आयोजकहरुले भने अनुमति प्राप्त नभए पनि कार्यक्रम गर्ने तयारी गरेका छन् । सामाजिक सञ्जालबाट व्यापक प्रचारप्रसार भइरहेको छ ।
यदि अनुमतिबिनै कार्यक्रम आयोजना भए जिप्रकाले के गर्छ ? भन्ने प्रश्नमा प्रवक्ता ढुंगानाले जवाफ दिए, ‘के हुन्छ त मलाई के थाहा ?’
राजसंस्थाको पक्षमा माहोल बनाउनका लागि भव्य तयारीका साथ यो नागरिक अभिनन्दन गर्न लागिएको हो । यसको अगुवाइ राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठले गरेका छन् ।