विराटनगरकाे नाे पार्किङ : कडाई गर्ने  महानगरको निर्णय, व्यापारीले अवज्ञा गर्ने

 

विराटनगर / विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो

। बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ ।

प्रदेश राजधानीमात्रै नभएर विराटनगर कोशी प्रदेशको एक मात्र महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिबद्धता जनाए । “विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा महानगरलाई प्रशासनका तर्फबाट पूर्ण साथ रहन्छ,” प्रजिअ भट्टराईले भने, “कुनै पनि काम गर्दा शतप्रतिशतलाई सन्तुष्ट बनाउन सकिँदैन ।”

आइतबार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीहरूले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन् । अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि चर्को दबाब आएको मेयर कोइरालाले बताए ।

“नो पार्किङकको निर्णयबाट पछि नहट्न भन्दै डेलिगेशन पनि आइरहेका छन्,” कोइरालाले भने, “हाम्रो अरु केही उद्देश्य होइन विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो । यसप्रति विराटनगरवासी धेरै नै चिन्तित भएको पाएको छु । यहाँहरूले सामाजिक सञ्जालहरूमा पनि हेरिरहनु भएको होला ।”

मेयर कोइरालाले वैकल्पिक पार्किङलाई समेत व्यवस्थित बनाउँदै लगिने बताए । उनले सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने उल्लेख गरे । उपमेयर शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गइरहेको बताए ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिए । विराटनगरको ट्राफिक व्यवस्थापनबाट आफू सन्तुष्ट भएको बताउँदै उनले भने, “विराटनगर प्रदेश राजधानी पनि हो । यहाँ भीआईपीको मूभ भइरहने स्थान पनि हो । हामीले अन्य स्थानमा जतिसुकै राम्रो ट्राफिक व्यवस्थापन गरे पनि प्रदेश राजधानीमा राम्रो गरेनौं भने त्यसको सन्देश देशभरि जान्छ ।”

 

Share: