विराटनगर / विराटनगरको ठूलो सहकारी तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ ।
सहकारी ऐनविपरीत बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलवार ठगी मुद्दा दायर गरेको हो ।फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेविरुद्ध ठगी मुद्दा दायर भएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका लेखापरीक्षण गर्ने सीए शितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाउने निर्णय गरेको छ ।
बुधवारदेखि प्रतिवादीहरूको बयान शुरू हुनेछ । बयान सकिए सोही दिन थुनछेक बहस हुनेछ । बहसपछि अदालतले आदेश गर्नेछ ।
सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३०७ जनाले दिएको उजुरीका आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ ।
अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।
उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
सहकारीका सञ्चालकहरूले ३ हजार ६३ जना सर्वसाधारणले जम्मा गरेको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीका ४ वटा शाखा रहेका छन् । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप गरेका छन् ।
उजुरी दिनेहरू मोरङका मात्र हुन् । झापा, सिरहा र गाईघाटका बचतकर्ताले उजुरी दिन बाँकी रहेको छ । बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको देखिएको प्रहरीले जनाएको छ । संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गरेको देखिएको छ ।