झापा / एसियाकै जैविक विविधताले भरिएको झापाको जलथल जङ्गलमा काठ तस्करहरू रजाइँ बढेको छ । यसैक्रममा हल्दिबारी गाउँपालिका – ४ स्थित श्री पाथीभरा कालिका सामुदायिक वन क्षेत्रभित्र तस्करहरूले अवैध रुपमा काटेर राखेको दुई थान सखुवा जातका गोलिया काठ फेला परेको छ ।
वनभित्र गोलिया काठ फेला परेसँगै तस्करहरूको रजाइँ बढेको यसै घटनाले पुष्टि गर्छ । मङ्गलवारका दिन फेला परेको गोलिया काठ श्री पाथीभरा कालिका सामुदायिक वनको घाटगद्धिमा ल्याएर राखिएको वन समूहका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । वनलाई सबै मिलेर सुरक्षा दिन जरुरी रहेको बताउँदै उनले भने, ‘तस्करहरूलाई बन समूहले मात्र रोक्न नसक्ने अवस्था आउँदा काठ तस्करीका घटना मौलाएको हो ।’
सामुदायिक उपभोक्ताको नाममा समेत कटान अनुमति भन्दा बढी रुख काट्ने गरेको र वन कर्मचारी, स्थानीय प्रहरी तथा उपभोक्ता समितिको संलग्नतामा तस्करहरूले काठ तस्करी गर्ने हुने गरेको स्थानीयहरुको आरोप छ ।