मोरङमा एसईईमा नक्कली परीक्षार्थी : ४० हजारमा पास गराउने ठेक्का

 

मोरङ  / एसईई दिने नक्कली परिक्षार्थीहरूले ४० हजार रुपैयाँसम्म लिएर पास गराइदिने ठेक्का लिने गरेको पाइएको छ ।

बिहीबार मोरङबाट पक्राउ परेका १९९ जनामाथि गरिएको अनुसन्धानअनुसार ४० हजार रुपैयाँमा पास गराइदिने ठेक्का लिइएको मोरङ प्रहरीले जनाएको छ ।

एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी पकाउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

त्यस्तै, झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो । एकैदिन एकै जिल्लाबाट यति धेरै नक्कली परिक्षार्थी पक्राउ गरेको यो पहिलो घटना हो । ‘प्रवेश पत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिएँ । भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्रअध्यक्ष लुइँटेलले भने ।

सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो । नक्कली परीक्षार्थीहरू परिचालन कन्सल्टेन्सीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘परीक्षा दिन आउने नक्कली परीक्षार्थीहरूले दैनिक ७ सय देखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको प्रारम्भिक बयानको क्रममा बताएका छन्,’ डिएसपी दाहालले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।’

 

Share: