तीनजना फरार प्रतिवादी कारागार चलान

 

झापा /  झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान, जबरजस्ती करणी र ठगी मुद्दामा फरार पक्राउ परेका तीनैजना दमकका रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको विवरण अनुसार सवारी ज्यान मुद्दामा फरार दमक नगरपालिका वडा नं.७ का ४५ वर्षीय पवन लिम्बू पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको २०७५ असार ५ गते भएको फैसला अनुसार सवारी ज्यान मुद्दामा लिम्बूलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको थियो ।

त्यस्तै जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका वडा नं.३ बस्ने ३६ वर्षीय नगेन राई पनि बिहीबार नै पक्राउ परेका छन् । उनी १२ वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको २०६७ फागुन १७ गते भएको फैसलाअनुसार जबरजस्ती करणी मुद्दामा राईलाई ११ वर्ष जेल सजाय तोकिएको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

त्यस्तै ठगी मुद्दामा फरार रहेका दमक नगरपालिका वडा नं.८ बस्ने ४१ वर्षीय बेदप्रसाद सेढाईं पनि पक्राउ परेका छन् । उनी १० वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको २०६९ चैत २० गते भएको फैसलाअनुसार ठगी मुद्दामा सेढाईंलाई ५ दिन कैद र १ हजार जरिबाना तोकिएको थियो ।

फरार रहेका तीनैजनालाई पक्राउ गरी शुक्रबार अदालतको आदेशले जिल्ला कारागार पठाइएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

Share: