अवैध उत्खननमा रोक

 

मोरङ /  झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ।

मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन गरेर उत्खननमा रोक लगाएको दमकका नगरप्रमुख रामकुमार थापाले जानकारी दिए ।

झापाको दमक नगरपालिका र मोरङको उर्लाबारी नगरपालिकाले साझेदारीमा प्याकेज नं. १ को खोलाजन्य सामाग्री उत्खनन, सङ्कलन तथा बिक्रीका लागि ठेक्का दिएकोमा सम्झौता विपरीत काम भएको पाइएको जनाएको छ ।

खोला जथाभाबी उत्खनन गर्दा भूक्षयको खतरा पनि बढेको छ।

एनआरआरएन कङ्क्रिट उद्योग प्रालिलाई आईई प्रतिवेदन र रेखाङ्कनअनुसार मेसिन प्रयोग गरेर खोलाजन्य सामग्री झिक्नका लागि नगरपालिकाले अनुमति दिएको थियो।

उर्लाबारी नगरपालिकासहित सरोकारवालाले अनुगमन गर्दा आईई प्रतिवेदनविपरीत काम गरेको पाइएपछि उत्खननमा रोक लगाइएको दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञप्रसाद निरौलाले बताए ।

 

Share: